तस्बिर: विकिमीडिया

आर्थिक

आठ महिनामा तीन करोडभन्दा बढीको सियो आयात

By खबरहब

April 05, 2022

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्यका सियो नेपाल भित्रिएको हो । पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाएको छ। सो मूल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४७३ केजी सियो नेपालले आयात गरेको छ ।

विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वट्जरल्याण्ड, ताइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् ।

नेपालले सबैभन्दा बढी सियो भारत र चीनबाट आयात गर्ने गरेको छ । चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा चीनबाट २ करोड ४४ लाख ३५ हजार रुपैयाँ र भारतबाट ७९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको देखिन्छ ।

गत आर्थिक वर्ष २०७७-७८ मा नेपालले विभिन्न देशबाट २ करोड ५४ लाख ३ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षमा आयात गरेकोभन्दा बढी मूल्यको सियो नेपालले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आयात गरिसकेको छ ।