तस्वीर- न्यूजवायर श्रीलंका

अन्तर्राष्ट्रिय

शपथ खाएको २४ घण्टा नपुग्दै श्रीलंकाली अर्थमन्त्रीद्वारा राजीनामा

By खबरहब

April 05, 2022

काठमाडौं– श्रीलंकामा अर्थमन्त्री नियुक्त भएको २४ घण्टा नपुग्दै अली साबरीले राजीनामा दिएका छन् । राष्ट्रपति गोताबाया राजापाक्षलाई पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।

श्रीलंकाको अंग्रेजी अनलाइन पोर्टल डेली मिरर श्रीलंकाले जनाएअनुसार उनले आफूले अन्तरिम रुपमा मात्र मन्त्रीको जिम्मेवारी सम्हालेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

उनले यदी राष्ट्रपति राजापाक्षले संसदीय प्रणालीबाहिर गई समस्याको समाधान खोजेको भए आफू सांसद पदबाट समेत राजीनामा दिन तयार रहेको बताएका छन् ।

यसअघि श्रीलंकाका सबै २६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । मन्त्रीहरूको राजीनामापछि राष्ट्रपतिले साबरी सहित चार जनालाई हिजोमात्र विभिन्न मन्त्रालयको जिम्मेवारी दिई शपथ ग्रहण गराएका थिए ।

मन्त्रीहरुको सामूहिक राजीनामापछि राष्ट्रपतिले जारी समस्या समाधान गर्न संसद्मा रहेका सबै दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए । यद्यपि विपक्षीले भने राष्ट्रपतिको आग्रह अस्वीकार गरेको जनाइएको छ ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा प्रायः नियमितजसो प्रदर्शन हुँदै आएको छ । यसअघि प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षको घरमै पुगी हिंसात्मक प्रदर्शन गरेका थिए ।

प्रदर्शनबीच त्यहाँ आपतकाल लगाइएको छ । आपतकालका बावजुद प्रदर्शन जारी रहेको बताइएको छ ।