तस्वीर- फेसबुक/गोताबाया राजापाक्ष

अन्तर्राष्ट्रिय

अल्पमतमा परिसक्दा पनि राजीनामा नदिने श्रीलंकाली राष्ट्रपतिको अडान

By खबरहब

April 05, 2022

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर बहुमत जुटाउने जुनसुकै पार्टीलाई पनि सरकार हस्तान्तरण गर्ने बताएका छन् ।

श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार राष्ट्रपति राजपाक्षेले संसद्‍मा कायम २२५ सिटमध्ये ११३ सिटको बहुमत जुटाउने जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको जनाएका हुन् ।

गत आइतबार श्रीलंकाको मन्त्रिपरिषद्‍मा रहेका २६ मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका थिए । त्यसमथि मंगलबार सरकारको समर्थन गर्ने ४१ सांसदहरु सत्ताधारी गठबन्धनबाट बाहिरिएर स्वतन्त्र सांसदको हैसियतमा रहने बताएसँगै त्यहाँ राजनीतिक संकट चुलिएको छ ।

आर्थिक संकट तथा अत्यावश्यक वस्तुको चरम अभावबीच श्रीलंकामा सरकारविरोधी प्रदर्शन तीव्र भएको छ । संकट समाधान गर्न असक्षम रहेको भन्दै विपक्षीहरुले राष्ट्रपति एवम् सरकारको राजीनामा माग गर्दै आएका छन् ।