अन्तर्वार्ता

बलिउड फिल्म खेलेर हलिउड फिल्मको अडिसन दिइसकेको छु

By विद्या लामा

May 05, 2022

भारत जन्मथलो भए पनि नेपाललाई दुई दशकदेखि कर्मथलो बनाइरहनुभएको छ, कलाकार सिद्धार्थ सिंहले । जो केएसएच नन्दुका नामले परिचित छन् । जीवनका अनेक संघर्ष बाबजुद पनि आफ्नो अभिनयप्रतिको मोहलाई जीवित राखेर अगाडि नेपालमा मात्रै नभई बलिउड र हलिउड फिल्ममा समेत आफ्नो अभिनयलाई अगाडि बढिरहनुभएको छ । जीवनका अनेक आरोहअवरोहलाई पार गर्दै उमेरको यो दशकमा आइपुग्दा पनि आफ्नो अभिनय क्षमतालाई उजागर गर्ने अवसर पाउँदा धेरै खुसी लागेको उनी बताउँछन् । ‘मलाई विश्वास र प्रेरणा दिने मेरी जीवनसंगिनी मेरा आफन्त तथा साथीभाइप्रति पनि आभार लाग्छ,’ उनी सारमा आफ्नो सफलता रहस्य खुलाउँछन् । उनै कलाकार सिद्धार्थ सिंहसँग खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः

अचेल के काममा व्यस्त हुनुहुन्छ ?

भर्खरै मैंले मण्डला थ्रियटरबाट प्रशिक्षण लिएँ । ‘व्याच प्रोडक्सन’को स्टेज सोहरू गर्नुपर्ने भएकोले त्यसमा व्यस्त छु । केही कलिउडको प्रोजेक्टको लागि पनि लागिरहेको छु । व्यस्त छु भनौँ ।

सानैदेखि अभिनयमा झुकाव भए पनि यो समयमा आएर अभिनयलाई व्यवसायिक रूपमा लैजाने अवसर मिल्यो ?

सानैदेखि अभिनयमा रुचि थियो । १८ वर्षदेखि अब अभिनयमा लाग्छु भनेर सोच बनाएर मोडलिङ पनि गरेँ । अभिनय नै गर्ने अवसर मिलेन । हालैको लकडाउनमा २२ वर्ष शिक्षा क्षेत्रमा बिताइसकेपछि अवकाश लिएँ । त्यसपछि अब आफ्नो रुचिको कुरा अभिनयमा लाग्छु भनेर मण्डला थियटरमा बुझ्न गएँ । त्यहाँ गुरुहरूबाट सिक्ने क्रममा अडिसन दिन थालेँ । त्यही क्रममा २/४ वटा प्रोजेक्टमा छनौट भएँ । त्यसरी लाग्ने क्रममा यसलाई पनि व्यवसायिक रूपमा लाग्ने अवसर जुर्‍यो । व्यवसायिक भन्दा पनि अभिनयको सुरुवात भयो भनौँ ।

भारत जन्मथलो भए पनि नेपाललाई कर्म थलो बनाउनुभयो, किन ?

१९९८ भिजिट नेपाल वर्ष थियो । सोही क्रममा म नेपाल प्रवेश गरेँ । त्यहाँदेखि आज ४३ वर्षसम्मको यो उमेरमा पनि नै निरन्तर नेपाललाई कर्मथलो बनाउँदै आइरहेको छु । हुन चाहिँ मेरो आमा सिन्धुपाल्चोक जिल्लाको हेल्मो कमिटीको हुनुहुन्छ । मेरो मामाघर नेपाल भएको हुनाले पनि मलाई यहाँको वातावरणले खिचिरहन्थ्यो । एउँटा नेपालप्रतिको आत्मियता पनि रह्यो ।

आफ्नो जीवनको २२ वर्ष शिक्षा क्षेत्रमा बिताउनुभयो । नेपालमा सुरुवाती चरणमा आउँदा नै शिक्षण पेशा अँगाल्नुभएको हो ?

म १९९८ मा साथीभाइसँग नेपाल आउनेक्रममा जागिर खोज्ने क्रममा महाराजगञ्जस्थित एक विद्यालयको होस्टेलमा वार्डेनको रूपमा आफ्नो काम सुरु गरेँ । त्यसमा गाँस, बास र आवासको केही मात्रामा भए पनि सुविधा थियो । जसमा सुरुवातमा तलब १५ सय रुपैयाँ थियो । त्यो मैले कमाएको पैसा त्यहीँ बस्ने सुविधा भएपछि बचत हुन्छ भन्ने सोच भयो । यसरी होस्टेलमा वार्डेनको रूपमा कार्यरत रहँदा नै प्राइमरीमा शिक्षकको रूपमा पढाउने मौका पाएँ । अंग्रेजी विषय लिएर अध्‍यापन गराउन आफूले सो विषयमा दखल हुनपर्ने भयो । त्यसका लागि ग्रामर किताबहरू लिएर पढ्न थालेँ । त्यही क्रममा विद्यालयको व्यवस्थापनले अब तपाई अध्यापन गराउन योग्य हुनुहुन्छ भनेपछि मेरो शिक्षण पेशा सुरु भयो । पढाउँदै जाने क्रममा निम्न माध्यमिक तहसम्म अध्यापन गराउने अवसर पाएँ । विद्यालयमा रहँदा होस्टेलमा वार्डनेका रूपमा विद्यार्थीको अनुशासन तथा अतिरिक्त क्रियाकलापमा पनि रहे । अध्यापन गराउने क्रममा शिक्षण पेशाको लागि लाइसेन्स निकाल्नु पर्छ भन्ने जस्तो कुराहरू पनि सुनियो । मलाई पहिलो कुरा त नागरिकताको नै समस्या थियो । अझै पनि म सँग नेपाली नागरिकता छैन । त्यही क्रममा अब काउन्सिलरका रूपमा विद्यालयमा रहन्छु भन्ने सोचे र इसिए (अतिरिक्त पाठ्यक्रम गतिविधिहरू) इन्चार्ज रूपमा विद्यालयमा आबद्ध भएँ ।

नागरिकता बनाउन केही पहल गर्नुभएन ?

नेपाल मेरो मामाघर भएका कारण नागरिकता लिनको लागि पहल गरेको थिएन। टिम्बु भन्ने ठाउँमा सिन्धुपाल्चोकबाट लिन खोजेको थिएँ । तर आमा नै चाहिन्छ भन्ने कुराभो । आमाको निधन भइसकेको अवस्थामा मैंले नागरिकता लिन सकिनँ । त्योबाट बञ्चित भएँँ । कहीँ कतै जादाँ बैंक अकाउण्ट खोल्नु पर्दा अप्ठ्यारो हुन्छ । सवारी साधनको लाइसेन्स लिन नपाउँदा र इन्स्योरेन्स गर्नुपर्दा नेपालमै भए पनि विदेशमा छु जस्तो लाग्छ ।

शिक्षण पेशा छोडेसगैँ वैदेशिक रोजगारीको क्रममा हङकङ पनि जानु भयो । त्यहाँको बसाइ कस्तो रह्यो ?

२००८ सालमा मेरो विवाह भएको वर्षमै हङकङ जाने अवसर पाएँ । भारतको पार्सपोट भए पनि नेपालबाटै हङकङको लागि उडेँ । इन्डियन पासपोर्ट भए पनि नेपालबाट एराइभल भिसाबाट १४ दिनसम्म त्यहाँ बस्दा खेरी जुन कामको लागि गएको त्यो भएन । फर्केर पनि के गर्ने भयो । त्यहाँ बस्ने क्रममा जे काम पाउथे त्यहीँ गर्न थालेँ । सोही क्रममा ११ महिना जसो तसो बसेँ । त्यहाँ रहँदा ११ महिनाको बसाईमा ढुंगा फोड्ने काम पनि गरेँ । त्यस्तै वियर डेलिभरी गर्ने काम पनि गरेँ । घर सफा गर्ने काम पनि पाइन्थ्यो । त्यो पनि गरेँ । दोष कसलाई दिने ठाउँ थिएन । कसैले जीवनमा आइपर्ने बाटो मध्यको एक हो भन्ँने सोचेर हरेस नखाइ लागि रहेँ । त्यहाँको बसाइको क्रममा जे चुनौती आए त्यसलाई पार गर्दै आएँ । फेरि नेपाल क्लब भन्ने त्यहाँ सञ्चालित होटल रेष्टुरेण्टको रूपमा थियो । त्यही रेष्टुरेण्टमा वेटर बार टेण्डर क्यासियर डिजे भनौ अल इन वान गर्नु पुगेँ ।

साढे १ वर्षको सिंगापुर बसाइपछि पुनः नेपाल फर्किएर कुन पेशा अँगाल्नु भयो ?

नेपाल फर्किसकेपछि पुनः डिआइको शिक्षण पेशामा आबद्ध भएँ । त्यसलाई निरन्तर दिने क्रममा २०१५ मा आफ्नै व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने र न्युरोडमा दरेष्टुरेण्टमा खोलेँ । तर २०७२ मा भुकम्प आयो । त्यसले झन् तहसनहस भयो । खोलेको ४ महिनामै व्यवसाय धरापमा प¥यो । जसो तसो चलाउन त खोजे फेरि नाकाबन्दी भइदियो । त्यसले सञ्चालन र गराउन ग्यासलगायतका कुरामा समस्या झेल्दै गए जिविको पार्जन गर्ने क्रममा तर कहीँ कतै आफ्नो अभिनयप्रतिको मोहलाई भने त्यागिन। व्यवसाय असफल हुँदै जाँदा अब जिविको पार्जनका लागि के गर्ने त भन्ने सोच आयो । साथीभाइले पनि कहिलेकाहीँ दिने हो सधैँ त सक्दैनन् । त्यही सोच्ने क्रममा मेरो बुहारी हुनुहुन्छ जो वेडिंगमा कोरियाग्राफी गर्नुहुन्छ । त्यही क्रममा मेरो बुहारीले मारवाडी वेडिंगहरूमा होस्टिंग गर्ने प्रस्ताव ल्याउनुभयो ।

मलाई कलाकारिताको प्रतिको झुकाव भइरहँदा म स्टेज सोको लागि पनि बनिएको हो भन्ने लाग्थ्यो । मेरो उद्घोषकको यात्रा पनि त्यहीँबाट सुरु भयो । विवाह समारोहमा होस्टिंग गर्ने क्रममा सबैले मन पराउन थाल्नुभयो । शिक्षक पेशा अर्कोतिर होस्टिगं पेशा गर्दै आर्थिक रूपमा पनि केही सहज हुन थाल्यो । रेष्टुरेन्ट व्यवसायले मलाई असफलता देखाए पनि त्यसले अरु बाटोहरू पनि खोलिदिएको अनुभूति हुन्छ । दुई वर्षको लकडाउनबाट शिक्षक पेशाबाट अवकाश लिनु पर्‍यो। त्यसपछि मैंले खाली समयमा विवाह समारोहमा होस्टिंग गर्थें। खाली समयमा कार्निभल फेस्टिभमा आइसक्रिम पनि बेच्ने गर्छु । मलाई काम गर्न लाज लाग्दैन । त्यही क्रममा पुनः अभिनयप्रतिको मोह बढेर आयो । अब शिक्षक पेशामा हुदाँ १० बजेदेखि ५ बजेसम्मको समय त अब मैंले व्यवस्थापन गर्न सक्छु नि भन्ने लाग्यो । अब खाली समयमा अभिनय सिक्छु भन्ने भयो ।

अभिनय सिक्ने क्रममा कहाँबाट सुरुवात गर्नुभयो ?

अभिनय सिक्ने क्रममा म मण्डला थियटर अनामनगर पुगेँ । त्यहाँ अभिनेता बुद्धि तामाङ सरलाई भेटेँ । उहाँलाई आफू अभिनय सिक्न आएको भनेँ । मेरो उमेर ४२ वर्षको हो । नेपाली नागरिकता छैन भनेर राष्ट्रियताको कुरा पनि आयो । नैतिकताको कुरा पनि आउने भयो । हाम्रो मण्डला थियटरमा राष्ट्रियता र थर धर्मको कुरा छैन । नितान्त कलाकारिताको कुरा आउँछ भन्नुभयो बुद्धि सरले । मण्डला थियटरबाट अभिनयको कोर्स हुँदा सूचना आउँछ भन्नुभयो । सोही अनुरूप मण्डलाको पेजमा लाइक गरेँ । गत वर्षको फेब्रुअरीमा मण्डलाबाट अभिनयको लागि भर्ना सुरु भयो । त्यहीँ क्रममा आवेदन दिएँ । आवेदन दिने त धेरै थियो । त्यसमध्ये २३ जनामा म पनि परेँ । लकडाउनको समयमा महिले मेरो श्रीमतीसगँ नि कुरा गरेँ । २२ वर्ष त शिक्षण पेशामा आबद्ध भए त अब म आफ्नो अभिनय प्रतिको मोहलाई अगाडि बढाउँछु भन्ने कुरा गरेँ । अब अभिनय सिक्छु भन्ने लाग्यो । मेरो श्रीमतीले पनि सकारात्मक प्रतिक्रिया दिइन् । जसले गर्दा हौसला मिल्यो ।

यो उमेरमा पनि अभिनयमा लागेको भनेर कुराहरू त कहीँ कतै त आएको थियो होला । तर पनि मण्डलामा अभिनय सिक्ने मौका पाउँदा कस्तो अनुभूति गर्नु भयो ?

मण्डलामा अभिनय प्रशिक्षणका लागि छनौट हुँदा अब म मा निख्खारता आउँछ, मेरो अभिनयप्रतिको मोहले साकार पाउँछ भन्नेमा मलाई आफैँप्रति आत्मविश्वास लाग्यो । मेरो यात्राको सुरुवात भयो र मौका पाउनुनै मेरो लागि ठुलो उपलब्धि हो भन्ने लाग्यो । तपाईं ४० वर्षको उमेरमा पनि आफ्नो अभिनयलाई जीवन्त राखेर सिक्न आउनु भएको छ । तपाईंसगँको सहकार्य कस्तो हुन्छ हेरौँ भनेर सरहरूले भन्नुभयो । त्यही क्रममा मेरो अभिनयको सिकाइ यात्रा सुरु भयो भनौँ ।

आफूमा कलाकारिताप्रतिको क्षमता भए पनि किन त्यो बेला प्रयास गर्नुभएन ?

होस्टेल वार्डेनको रूपमा काम गर्दै पहिला आफ्नो जीवनस्तरको बारेमा सोच्नु पर्छ भन्ने सोच आयो । सोही अनुसार काम गर्दै गएँ । आफ्नो अभिनयप्रतिको मोह छायाँमा पर्दै गयो । तर पनि कलाकारितालाई जीवित राख्ने उद्देश्यले २००० तिर मोडलिङप्रतिको मोहलाई त्यागिन् । आफ्नो जीवन निर्वाह गर्नु पहिलो कुरा भयो । सोही क्रममा जीवनलाई दिगो गर्नुपर्छ पारिवारिक जिम्मेवारी भन्ने कुरा पनि आयो । त्यसले गर्दा केही छायाँ पर्दै गयो । जिम्मेवारी बहन गर्ने क्रममा केही आफ्नो इच्छा गुम्सियो र अभिनय सिक्ने क्रममा थियटर हुन्छ भन्ने पनि थाहा थिएन । त्यसमा पनि कलेज र विद्यालयमा शिक्षण पेशा रूपमा डिआईको रूपमा अघि बढ्ने क्रममा समय बितेको थाहा नै भएन

बलिउड फिल्ममा खेल्ने अवसर कसरी जुट्यो ?

थियटरमा अभिनय सिक्ने क्रममा २ महिनाको कोर्स पूरा भइसकेको थियो । ब्याच प्रोडक्सन बाँकी थियो । अडिशनको लागि सृजना सत्रमा जाँदा त्यतिखेर बलिउड मुभी सरप्राइजको लागि रैछ । त्यसको त केही मेसो भएन । तर मेरो अभिनयलाई याद गरिरहनु भाको रैछ । सृजना सूत्रको सरले त्यही क्रममा त्यहाँ पनि आबद्ध हुने । त्यहीबाट बलिउड मुभी उचाइको लागि नेपाली कलाकार कास्टिङको लागि चाहिएको छ भन्ने कुरा आयो । बोमन इरानीको डुब्सको लागि भन्ने कुरा भएको थियो । तर सुटिङको २ दिन अगाडि थाहा पाएँ । हैन तपाईं त झन् शेर्पाको लिड रोलमा छनौट हुनुभयो भन्दा एकदम खुसी पनि लाग्यो । बलिउड फिल्म खेलेर अहिले हलिउड फिल्म तेञ्जिङका लागि अडिसन दिइसकेको छु ।

आजको यो अवस्थामा आइपुग्दा र विगतमा धेरै संघर्ष गरिसक्नु भएको छ । कस्तो फरक पाउनुभयो ?

विगतमा शिक्षण पेशामा २२ वर्षको अवधि बिताउँदा त्यहाँको नाम थियो । आजको यो अवस्थामा म एउटा कलाकार भन्न पाउँदा खुसी लाग्छ । आफूलाई कलाकार इभेन्ट प्लानर होस्ट भनेर चिनाउन पाएको छु । आज होस्टको रूपमा काम गर्दा पनि केही पारिश्रमिक पाएको छु कही न कही पेशागत रूपमा सुरु गरे जस्तो लाग्छ । आफू कलाकार हु भन्ने महसुस हुन्छ ।

आजको यो अवस्थामा आइपुग्न पारिवारिक साथीभाइ र आफन्तको साथ सहयोग कस्तो पाउनुभयो ?

अभिनयमा लाग्न हौसला दिने मेरी जीवन सगिंनीको साथले आजको यो उमेरमा पनि अभिनयप्रतिको लगावलाई जीवितै राख्न सकेँ । तपाईं निर्धक्क भएर आफ्नो अभिनय सिक्नुस् । म तपाईंको साथमा छु भन्नु पनि ठूलो कुरा हुने रैछ । मेरी श्रीमती होम ट्युसन पढाउनु हुन्थ्यो । त्यसले गर्दा पनि मलाई हौसला प्रेरणा र ऊर्जा मिल्यो । आफ्नो अभिनयको लागि सिके पनि प्रस्तुत गर्ने अवसर पनि पाएँ । हामी जस्तो नयाँ कलाकारलाई गाह्रो त छ तर आफ्नो अभिनयलाई निख्खारता ल्याउन प्रयास गरिरहने छु ।

जीवनमा सफलता भनेको के रैछ ?

सफलता त के हो म भन्न सक्दिनँ । तर जुन मैले आफूमा नै परिर्वतन पाएँ । सायद कहीँ न कहीँ त्यही कुराले मिट गर्छ कि सफलतालाई जस्तो लाग्छ । तपाईंहरूका सम्भावना छ भने त्यसलाई निखारने काम गर्नुस् । जब आफूमा भएको सम्भावनालाई बढाउन सकिन्छ त्यसैलाई पेशा बनाउन सकिन्छ । कुनै कुराप्रति लगाव छ भन्ने त्यसलाई जति कठिन परिस्थिति आए पनि नत्याग्नुस् भन्छु । अवश्य नै आफ्नो चाहेको बाटोमा पुग्न सक्नुहुन्छ ।