मनोरञ्जन

‘छक्का पञ्जा ४’ को छायांकनमा जाने तयारीमा 

By खबरहब

May 05, 2022

काठमाडौँ– नेपालको बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजको छायांकन आउँदो असारबाट सुरु हुने भएको छ । 

दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म  ‘छक्का पञ्जा ४’ को छायांकनमा लाने अन्तिम तयारीमा टिम रहेको छ । सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म  ‘छक्का पञ्जा ४’ को स्क्रिप्टको काम लक्ड भएसँगै फिल्म फ्लोरमा जाने छ । 

‘फिल्मलाई असार पहिलो सातामा छायांकनमा लाने तयारी गरिरहेका छौँ । हाम्रो अघिल्लो सिरिजको सफलताले अझै दायित्व थपेको छ । यसैले गर्दा स्क्रिप्ट लगायतका अन्य विषयमा पनि सक्दो मेहनत गरिरहेका छौँ’ निर्देशक दीपाले भनिन् । उनले एउटा क्यारेक्टर आफू सुहाउँदो भएकोले अभिनय गर्ने पनि बताइन । ‘एउटा राम्रो क्यारेक्टर निस्किएको छ । त्यसमा मलाई दर्शकले देख्ने सम्भावना छ’ उनले भनिन् । फिल्मलाई काठमाडौँ र आसपासमा छायांकन गर्ने तयारी टीमको छ । 

फिल्मको रिलिज मिति भने आगामी दशैँका लागि तय गरिसकिएको छ । फिल्ममा दीपक–दीपाका साथै केदार घिमिरे  ‘माग्ने बुढा’ र निर्मल शर्मा निर्माता छन् ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरेको अभिनय रहने बताइएता पनि अन्य कलाकारको बारेमा भने बताइएको छैन ।