आर्थिक

भौतिक र मानवीय विकासमा रुपन्देही अगाडि छ : पौडेल

By खबरहब

May 05, 2022

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताएका छन् ।

आज बुटवलमा उद्योगी व्यवसायीको भेलामा उपाध्यक्ष पौडेलले सञ्चालनमा रहेका योजना पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने बताएका हुन् ।

“भौतिक र मानवीय विकासमा रुपन्देही अगाडि छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, यहाँ सुरु भएका योजना सम्पन्न भएमात्र हुन्छ”, उनले भने ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले आफू अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको भन्दै कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको दाबी गरे ।

“हामीले बजेट ल्याउँदा सारा उद्योग व्यवसायीले प्रशंसा गरे । संस्थागतरूपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ”, उनले भने । उनले अर्थतन्त्रलाई अगाडि बढाउन सरकार, सहकारी र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै निजी क्षेत्र अनुकुलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको जिकिर गरेका थिए ।