अन्तर्वार्ता

‘कीर्तिपुर नेवारी खाजाको हब हो, पर्यटक भित्र्याउछौँ’

By लक्ष्मण फुयाल

June 05, 2022

काठमाडौँ – स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधिले आफ्नो पालिकामा काम सुरु गरिसकेका छन् । संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदा सबै पालिकाले अब दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधिबाट विकास र समृद्धिको आशा गरेका छन् । यससँगै जनप्रतिनिधि सेवामा लागिसकेका छन् । काठमाडौँ उपत्यकामा कीर्तिपुर ऐतिहासिक क्षेत्र हो । यो नगरपालिकाले पर्यटनको पनि उच्च सम्भावना बोकेको छ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट राजकुमार नकर्मी निर्वाचित भएका छन् । कीर्तिपुरको पाँच वर्षीय कार्यकालको योजनालगायत समग्र विकासका विषयमा खबरहबका लागि लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

तपाई कीर्तिपुर नगर प्रमुख पदमा निर्वाचित भएपछि समग्र कीर्तिपुरको विकास गर्ने पहिलो कुन कामलाई प्राथमिकतामा राख्नुभएको छ ? कीर्तिपुर नगरपालिकाले प्राथमिकतामा दुई वटा कुरा राखेको छ । पहिलो प्राथमिकता नीतिगत कुराहरुमा हुन्छ । अर्को पूर्वाधारको निर्माणको विषयहरु प्राथमिकतामा रहने छन् । नीतिगत कुरामा नगरपालिकालाई सुशासन कायम राख्दै नगरपालिकाले दिने सेवा सुविधाहरु छिटो र छरितो रुपमा जनतालाई सेवा प्रदान गर्नेमा हुनेछ । पूर्वाधार निर्माणको क्रममा अधुरो रहेका योजनाहरुलाई छनोट गरेर त्यसलाई चाडै सम्पन्न गराउन सम्बन्धित पक्षसँग आग्रह गरिरहेका छौँ । बजेट छुट्याएर पनि सम्झौता नभएका आयोजनाहरुमा छुट्टै निर्णय गरेर अगाडि बढ्दै छौ ।

कीर्तिपुरका जनताको स्वस्थ्य समस्या समाधान गर्न स्वास्थ्य क्षेत्रमा कस्ता कस्ता योजना ल्याउने सोचमा हुनुहुन्छ ? हामीले चुनावको बेला व्यक्त गरेको प्रतिबद्धतामा कीर्तिपुर अस्पतालमा उपचार गराउने कीर्तिपुर नगरपालिकाका आम नागरिकहरुलाई ५० प्रतिशत छुट दिलाउने प्रतिवद्धता गरेका छौँ । त्यो अनुसार अहिले सर्भे गर्ने काम भइरहेको छ । नगरपालिकाले कति व्यहोर्नु पर्ने अस्पतालले कति व्यहोर्ने भन्ने विषयमा विश्लेषण गर्ने काम गरिरहेका छौँ । अर्को तर्फ कीर्तिपुरका आम जेष्ठ नागरिक, बालबालिका अशक्तहरुको लागि छुट्टै व्यवस्था गरी निःशुल्क उपचार गराउने काम थालनी गरेका छौँ ।

काठमाडौँ उपत्यका आसपासका हरेक नगरपालिकामा खानेपानीको समस्या मुख्य रहेको छ । यस क्षेत्रको खानेपानीको व्यवस्थापनमा नगरपालिकाले कसरी चासो दिएको छ ? गएको पाँच वर्षको नेतृत्वले खानेपानीको काम गर्ने सकेन भनेर गुनासो राखेका थियौँ । हामी आइसकेपछि खानेपानी शाखा कीर्तिपुरका प्रमुखलाई बोलाएर कीर्तिपुरलाई खानेपानीको हकमा व्यवस्थित ढङ्गबाट हरेक धारामा पानी पुर्‍याउनको लागि योजना बनाउन आग्रह गरेका छौँ । जसअनुसार कीर्तिपुरको सुन्दरीघाटबाट पानी काठमाडौँ ललितपुरमा वितरण भइरहेको छ । त्यो पानी काठमाडौँमा ललितपुरमा मेलम्चीको पानी आइसकेपछि सुन्दरीघाटको पानी अब केही अंश कीर्तिपुरले पाउनुपर्छ भन्ने दाबीसहित उहाँहरुलाई अनुरोध गरेर त्यहाँबाट ६ इन्चको पाइप कीर्तिपुरको रिजभवयरमा झार्ने योजना बनाउन मैले भनेको छु । हामी त्यसमा एकदम इमान्दारिताका साथ लागू गराउने पक्षमा कटिबद्ध छौँ ।

कीर्तिपुर नगरपालिका आफ्नै ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो । यस क्षेत्रको कला सम्पदा संस्कृति बचाउन तपाईँले कस्तो योजना बनाउनुभएको छ ? यसलाई दुई वटा तरिकाले गर्नुपर्छ । पहिलो संरक्षणतर्फ । दोस्रो प्रवर्द्धनतर्फ हुनुपर्छ । कन्जभेरसन (संरक्षण ) गर्ने विषयमा कीर्तिपुरको मैलिकतालाई संरक्षण राख्दै अघि बढ्नुपर्छ । कीर्तिपुरको सांस्कृतिक ऐतिहासिक धरातल जति पनि छ। तिनीहरुको पुनः निर्माण गर्ने साथै त्यसलाई दुरुस्त राख्दै पर्यटकहरुको आगमन गर्नको लागि स्वागतको लागि एकदम तयार भएर बसेका छौँ । कीर्तिपुरको जति पनि पुरानो पुरानो गीतहरु छन् । कीर्तिपुरको विरगाथा भएका गीतहरु त्यसलाई पनि संरक्षण गर्दै लान्छौ यो संरक्षणको पाटो भयो । प्रवर्द्धनको पक्षमा कीर्तिपुरको ऐतिहासिक सांस्कृतिक महत्त्वलाई नेपालमा मात्र होइन विश्व जगतलाई चिनाउँदै अगाडि बढ्छौ ।

यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि सम्भावना बोकेको छ । यो नगरको समग्र पर्यटन विकास वा प्रवर्द्धन गर्ने नगरपालिकाको के योजना छन् ? पर्यटन प्रवर्द्धन गर्ने जति पनि संस्थाहरू छन् । त्यहाँ हाम्रो पहुँच स्थापित गर्छौ । अर्को प्रचार प्रसारबाट नै हो । विज्ञापनबाट नै हो । अहिले कीर्तिपुर नेवारी खाजाको हब बनेको छ । यसलाई निरन्तरता राख्दै अगाडि बढ्छौँ । यस्ता थुर्पै ठाउँमा यस्ता खाजा घरलाई सञ्चालन गर्न प्रोत्साहित गर्छौ । मर्यादित रेष्टुरेन्ट प्रवर्द्धन गर्छौ । यसलाई मर्यादित बनाउन हामी काम गर्छौ ।

नगरपालिकाले त्रिभुवन विश्वविद्यालयसँग समन्वय कसरी गरेको छ ? शिक्षाको विकास गर्ने तपाईँहरूको कार्ययोजना कस्ता छन् ? उच्च शिक्षाको हकमा हामीले छुट्टै योजना बनाएका छौँ । कार्यकालको पाँच वर्ष भित्रमा कीर्तिपुर नगरपालिकालाई हरेक घरमा एक जना स्नातक तहसम्मको जनशक्ति उत्पादन गर्ने योजना रहेको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयका विभिन्न विषय तथा संकायहरुमा कीर्तिपुरका एक जना विद्यार्थीलाई अध्यापन गराउने उहाँहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । यसमा पनि हामी कडाइका साथ पालना गर्नुस् भन्ने हामी आग्रह गर्छौ । त्रिविमा विशेष भर्ना हुन गाह्रो भएका विषयमा माइक्रो बायोलोजी, एमबीए जस्ता विषयमा कीर्तिपुरका नागरिकहरुलाई छात्रवृत्ति दिँदै आएको छ । छात्रवृत्ति दिलाउने तर्फ हाम्रो काम हुनेछ । संस्थागत तथा सार्वजनिक विद्यालयबीचको शिक्षामा भिन्नता छ । त्यसलाई अन्त्य गराउँदै अगाडि बढ्नेछौँ । संस्थागत विद्यालयको शिक्षालाई गुणस्तर बनाउँदै अगाडि बढ्यौ भने केही हदसम्म हामीले काम गरेको देखिन्छ । त्यसको निम्ति संस्थागत विद्यालयहरुको जति पनि विद्यालयहरु छन् । ती विद्यालयहरुको गुणस्तरसंगै सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई सँगसँगै लैजाने । शिक्षाको विभेदलाई अन्त्य गर्दै गुणस्तर शिक्षा प्रदान गर्दै त्यो तहसम्म पुर्‍याउने योजना छ ।

स्थानीयलाई रोजगारीको लागि नगरपालिकाको कस्ता योजना ल्याउने तयारी गरेको छ ? बेरोजगारी चुनौती नेपालमा मात्र होइन विश्वमै छ । यो विश्वकै चुनौतीको विषय हो । कीर्तिपुरमा पनि यो चुनौतीबाट अछुतो छैन । कीर्तिपुरमा पनि बेरोजगारीको एकदमै समस्या छ । विशेष गरी युवा युवतीहरुमा । युवाहरुलाई रोजगार दिलाउने काम कीर्तिपुर नगरपालिकाले केही हदसम्म गर्देला । तर नगरपालिकाले रोजगार उत्पादन गर्नै सक्दैन । रोजगारी बनाउनको लागि नगरपालिकाले रोजगार हुन सक्ने खालका व्यावसायिक विषयहरु सञ्चालन गर्ने एउटा शिक्षालय टेक्निकल स्कुलको स्थापना गर्छौ । टेक्निकल स्कुलबाट उत्पादन भएका विद्यार्थीहरू स्वंयम रोजगारीको लागि भौतारिनुपर्ने अवस्था रहँदैन । त्यस्तो दक्ष जनशक्ति उत्पादन गर्ने योजना बनाएका छौँ । यसरी टेक्निकल विद्यालयबाट कीर्तिपुरमा विद्यमान रोजगारीको समस्या केही हदसम्म समाधान हुन्छ भन्ने आशा राख्दछु ।

नगरपालिका भित्र सरसफाइ विषयमा के गर्ने योजना छ ? हरेक घरबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्ने नगरपालिकाले काम गर्छ । साथै नगरपालिका फोहोर व्यवस्थापनमा काम गर्दै गरेका संस्थाहरुलाई हामीले न्यूनतम शुल्कमा कीर्तिपुरका आम नागरिकहरुको गुनासो सरसफाइ गर्ने संस्थाहरुले फोहोर व्यवस्थापनको नाममा बढी पैसा लिएको गुनासो छ । त्यसलाई हामीले व्यवहारिक र फोहोर उठाउने व्यवस्था गराउनेछौ । सकेसम्म हामी यस्ता फोहोरलाई प्लान्ट खडा गरेर हामीले नै नष्ट गर्ने वा कम्पोष्ट मल उत्पादन गर्ने त्यस्तो कार्यविधीमा हामी जान्छौ । यताबाट फोहोरमैला व्यवस्थापन गर्ने सोचिरहेका छौँ ।

आवास क्षेत्रलाई व्यवस्थापन गर्न नगरपालिकाले के गर्दछ ? आवास व्यवस्थापन चुनौतीपूर्ण विषय रहेको छ । करिब ३ हजार रोपनी जग्गा हल्टमा रोकिरहेका छौँ । त्यो क्षेत्रमा आवासका लागि प्लानिङ गर्ने योजना छ । ल्यान्ड पुलिङ सिस्टमबाट जाने योजना गर्ने गत नेतृत्वले हल्ट गरेको छ । तर यो सकिएको अवस्था छैन । यसमा थुप्रै व्यवहारिक जटिलताहरु तथा कठिनाइहरु देखिन्छन् । हल्ट गरेर राखिराख्नु किसानहरुको लागि सारै मर्का हुन्छ । बेच्न पनि नपाउने । टुक्रा गरेर बेच्न नपाउने यावत कुराहरु छन् । खाली अन्धाधुन्दा अनियन्त्रित ढंगबाट बस्ती विकास हुने डर छ । जसलाई व्यवस्थित गर्न गाह्रो हुन्छ । सकेसम्म व्यवस्थित गर्ने उपायहरु खोजेर आवास क्षेत्रको निर्माण गर्नको लागि हामी सोचिरहेका छौँ ।

कृषि क्षेत्रलाई कसरी अगाडि बढाउने योजना नगरपालिकाले राखेको छ ? कृषिको लागि सुपथ मूल्यमा मल, बीउ विजनको वितरण गर्ने योजना छ । कीर्तिपुरमा कृषिको लागि योग्य जमिन बाँकी छैन । बाँकी भएको जमिनमा हामी सम्भावना भएसम्म सिँचाइ पनि पुर्‍याउँछौ । मलखाद विउविजन सुपथ मूल्यमा बेच्ने सहुलियत मूल्यमा बेच्ने प्रयास पनि गर्छौ ।

आर्थिक अवस्था राम्रो बनाउन नगरपालिकाले जनताको माझमा कस्ता कार्यक्रम लादैछ ? आर्थिक रुपमा कीर्तिपुरलाई सम्पन्न बनाउनु चुनौतीपूर्ण विषय हो । कीर्तिपुरको आफ्नो छुट्टै उत्पादन रहने स्थिति अहिले छ । हिजोका दिनमा कीर्तिपुरका कपडाहरु देशभर प्रख्यात थिए । त्यो हातले बुन्ने मेसिनहरु कहीँ चलनमै छैन । यो विस्थापित हुनमा विविध कारण छन् । जस्तो बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाले हो । बजार नभएर हो । तर अहिले बजार छ । तर हातले बुनेर उत्पादन हुने अवस्था छैन । कीर्तिपुरको आफ्नो उत्पादन छैन । कीर्तिपुरलाई आर्थिक रुपले सम्पन्न गर्नको लागि पर्यटन भित्राउन आवश्यक छ । आन्तरिक वा बाह्य पर्यटकहरु भित्र्याउन पहल गर्न आवश्यक छ । केही केही उत्पादन कीर्तिपुरले दियो आर्थिक रुपले सहयोग हुन्छ । कृषि, फलफूल उत्पादन गर्नुका साथ साथै घरेलु उद्योगको सम्भावना भएका उद्योगहरुको अध्ययन गर्दै छौँ । घरेलु उद्योग कीर्तिपुरमा प्रवर्द्धन गर्‍यो भने कसरी आर्थिक लाभ लिन सकिन्छ यो विषयमा छलफल गरिरहेका छौँ । यो दिशा तर्फ नगरपालिका अगाडि बढेको छ । कीर्तिपुरका आम नागरिकहरुलाई आर्थिक रुपले सम्पन्न बनाउने प्रयासमा हामी लाग्छौँ ।

नगरपालिका क्षेत्र आसपासका नदी संरक्षण गर्न नगरपालिकाले कस्तो पहल गर्छ ? हामीले बागमती सफाइ अभियन्ताहरुसँग छलफल गरेका थियौँ । उहाँहरुसँग मिलेर सहकार्य गरेर अगाडि बढ्ने छौ । कीर्तिपुरको घना बस्ती भएका तीन वटा ठाउँ शहर पांगा, नगहु, कीर्तिपुर क्षेत्रमा जनघनत्व उच्च छ । त्यहाँबाट उत्पादन भएका ड्रेन प्रशोधित गरेर बागमतीमा फाल्न सक्ने ठाउँहरु छ, हामीसँग । तीन ओटा शहरको ९० प्रतिशत ड्रेन घरबाट उत्पादन हुने ड्रेन एकै ठाउँमा ल्याउने हामीसँग ठाउँ छ । यसबाट ढलको पानी प्रशोधित गरेर पानी हामी बागमतीमा झार्न सक्छौँ । त्यहाँबाट उत्पादन हुने मलहरु कम्पोष्ट मल बिक्री गरेर आयआर्जन गर्न सक्ने देखिन्छ ।

तपाईँले ५ वर्ष पहिलेको समयलाई हेर्दा कीर्तिपुरको समस्या के देख्नुहुन्छ ? कीर्तिपुरको मुख्य समय भनेको पूर्वाधार विकासमा समस्या छ । केन्द्रीकृत योजना भित्रको कारणले कीर्तिपुरभित्र असन्तुष्टि छन् । कीर्तिपुर बाहिरको बस्तीमा पनि असन्तुष्टि छ । यो वर्ष हामी अन्त्य गर्छौ । यो बजेटको विनियोजनमा समावेशी ढङ्गबाट समानुपातिक आधारमा वितरण गर्छौ । योजनाहरू ल्याउने छौ । यसलाई सम्बोधन गर्नेछौ । यति मात्र गर्न सकियो भने कीर्तिपुरका आमजनतामा आत्मविश्वास पैदा हुन्छ । कीर्तिपुरमा बृहत् सोच राखेर अगाडि बढ्ने नेतृत्व पाएको छ भन्ने कुरामा उहाँहरू विश्वस्त हुने छन् ।

अन्त्यमा आम नागरिकलाई के भन्न चाहनुहुन्छ ? समृद्ध कीर्तिपुरको विकासमा नगरपालिका एक्लै आफैँमा पर्याप्त छैन । विकास निर्माण होस् वा समृद्धका कुराहरुमा । हामी सबै मिलेर सहकार्य गरौँ । तब कीर्तिपुरको निर्माण गर्न सम्भव हुन्छ । नगरपालिकाका हरेक विकासका कार्यमा नगरवासी सहभागी हुन अपिल तथा आह्वान गर्दछु ।