तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

बङ्गलादेशको कन्टेनर डिपोमा आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

By खबरहब

June 05, 2022

काठमाडौँ- बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ ।

आगलागी तथा विस्फोटका कारण ३४ जनाको मृत्यु भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताएका छन् ।

आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसहरूले आगो निभाउने प्रयास गरिरेहको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ ।

सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीसहित सयौँ भन्दा बढी घाइते छन् । अधिकारीहरूले आइतबार बिहानसम्म उद्धारको काम जारी रहेको जानकारी दिएका छन् ।

सो क्षेत्रका दर्जनौँ अग्निनियन्त्रक समूहलाई आगो निभाउन लगाइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए ।

चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पनि बताएका छन् ।