तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

पाकिस्तानको अनुसन्धान निकायद्वारा प्रधानमन्त्रीलाई पक्राउ गर्न अनुमति माग

By रासस

June 05, 2022

काठमाडौँ- पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शहबाज शरीफ र उनका छोरा एवम् पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ ।

यद्यपि, अदालतले उनीहरूको अन्तरिम जमानतलाई जुन ११ सम्म लम्ब्याएको छ । शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले  बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको छ तर अझै पनि एफआईएले उनका विरुद्ध कुनै प्रमाण पेश गर्न सकेको छैन ।

अमजद परवेजले ‘मनी लान्ड्रिङ मुद्दामा जमानत पुष्टि गर्न आफ्नो तर्क पेश गर्न थालेपछि पाकिस्तान मुस्लिम लिग नवाज पीएमएलएनका दुबै नेताहरू अदालतबाट बाहिरिएको’ बताए थिए ।

न्यायाधीशले अन्य सबै सरोकारवालाहरूलाई अर्को सुनुवाइमा आफ्नो तर्क प्रस्तुत गर्न आदेश दिएका छन् । अर्को सुनुवाइ जुन ११ हुनेछ ।

नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अदालतमा मुद्दा दायर गरेको थियो । सुनुवाइका क्रममा अभियोजक असदुल्लाह मलिकले भ्रष्टाचारका मुद्दाहरूसँग सम्बन्धित रेकर्डहरू प्रस्तुत गर्ने साक्षीहरू पेश गर्न माग गरेका थिए ।

सबै बहस सुनेपछि सुनुवाइ जुन २० सम्मका लागि स्थगित गरिएको छ । जिओ टिभीका अनुसार शहबाजलाई आशियाना हाउजिङ मुद्दामा अभियोग लगाइएको छ ।

फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) ले सन् २०२१ को डिसेम्बरमा शहबाज र हम्जा विरुद्ध चिनी घोटाला प्रकरणमा १६ अर्ब रुपैयाँको सम्पत्ति अपचलनमा संलग्न भएको आरोपमा विशेष अदालतमा चलान पेस गरेको थियो ।

एफआईएले उनीहरूलाई नोभेम्बर २०२० मा पाकिस्तान दण्ड संहिता, भ्रष्टाचार निवारण ऐन र एन्टि मनी लान्ड्रिङ ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो ।