क्रिकेट

ओपनरद्वय घाइते भएपछि विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल अमेरिका जाँदै

By खबरहब

June 05, 2022

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई अमेरिका पठाउने निर्णय गरेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गतको सिरिजका लागि अमेरिकामा भएको नेपाली टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल घाइते भएसँगै क्यानले खकुरेललाई पठाउने निर्णय गरेको हो ।

९ जुनमा लिग २ अन्तर्गतको अमेरिकाविरुद्ध पहिलो खेलमा शेख र भुर्तेलको अनुपस्थित हुनसक्ने सम्भावनाका कारण खकुरेललाई पठाउने क्यानले जनाएको छ ।

काठमाडौँमा भएको अभ्यास खेलमा खकुरेलको ब्याटिङ र विकेटकिपिङको सन्तोषजनक प्रस्तुतिलाई मध्यनजर गर्दै टोली व्यवस्थापन समितिले सो निर्णय लिएको हो ।

लिग २ अगाडि खेलेको २ अभ्यास खेलमध्ये पहिलोमा नेपाली अलस्टार्ससँगको खेलमा नेपाली टोली ४ विकेटले पराजित भएको थियो । यस्तै, शनिबार राति भएको दोस्रो अभ्यास खेलमा नेपाली टोलीले ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको थियो ।