तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा चिनियाँ मिसाइल प्रक्षेपणको निन्दा

By खबरहब

August 05, 2022

काठमाडौँ- अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । सैनिक अभ्यासका क्रममा चीनले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । उनले चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन पनि आग्रह गरेका छन् ।

अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको थियो । यसबाट ताइवानको राष्ट्रिय सुरक्षा खतरामा पारेको विश्लेषणहरु भएका छन् । यस कदमबाट क्षेत्रीय तनाव पनि बढेको छ ।

लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा शुरु गरिएको छ। चिनियाँ जनमुक्ती सेनाले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ।

बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने बताइएको छ । यसै बीच ताइवान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ।