अपराध

विमानस्थलबाट सुनको औँठी र मोबाइलसहित दुई जना पक्राउ

By खबरहब

August 05, 2022

काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालीमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउँपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औँठी र ३ थान आई फोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औँठी र १ थान आई फोन ८ प्लस तथा १ थान आई फोन ७ प्लस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।