देश/प्रदेश

माओवादी अध्यक्ष प्रचण्ड जापान प्रस्थान

By खबरहब

August 05, 2022

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गरेका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित उनी जापान प्रस्थान गरेका छन् ।

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री पम्फा भुसाल, नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, ओम शर्मालगायतका नेताहरुले प्रचण्डलाई बिदाइ गरेका थिए ।

प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।

उनले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए। भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए।