तस्वीर- एफजीएन/टीभी९

समाचार

भारतीय स्थल सेना प्रमुख पांडेले आज नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न पाउने

By खबरहब

September 05, 2022

काठमाडौँ – पाँच दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाका प्रमुख मनोज पांडेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न पाउने भएका छन्।

शीतलनिवासमा दिउँसो ३ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पांडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

त्यसअघि पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ ।

पाँच सदस्यीय टोलीका साथ हिजो काठमाडौँ आइपुगेका पांडेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग घोषणा गर्ने तयारी रहेको नेपाली सेनाले जनाएको छ। साँझ जंगीअड्डामा पाण्डेको सम्मानमा रात्रिभोज कार्यक्रम छ ।