समाचार

बिहान १० बजेसम्मका मुख्य १० समाचार

By खबरहब

September 05, 2022

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। हिजो बसेको बैठकमा शीर्ष नेताहरुले आ-आफ्नै अडान नछोडेपछि बाँडफाँटको खाका बनाउने जिम्मा पुनः कार्यदललाई नै दिइएको थियो । दुई दिन कार्यदलमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने समितिको तयारी रहेको कार्कीको सुनाएका थिए । कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरूसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्ने जनाइएको छ ।

२. पांडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान आज पाँच दिवसीय भ्रमणको क्रममा नेपाल रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो ३ बजे एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। पांडेले आज सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ। भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि सोही अवसरमा घोषणा हुनेछ । आज साँझ जंगीअड्डामा पांडेको सम्मानमा रात्रिभोज आयोजना गरिएको छ।

३. मन्त्रीका सुरक्षाकर्मीमाथि दुर्व्यवहार   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टरमा आफू र आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार भएको दाबी गरेका छन्। लाइन बस्न आग्रह गर्दा सेन्टरमा खटिएका सुरक्षागार्डलाई पक्राउ गरेपछि चौतर्फी आलोचनाको शिकार हुनुभएका मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आफ्नो बचाउ  गरेका हुन्। श्रेष्ठले फेसबुकमा मार्फत आफू र सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकाले दाबी गर्दै घटनाको तथ्य बुझेर मात्र प्रतिक्रिया दिन सर्वसाधारणलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठ गत शुक्रबार छाया सेन्टरमा ‘बायोमेट्रिक्स’का लागि त्यहाँ पुगेका थिए । सोही क्रममा त्यहाँ कार्यरत सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्री भए पनि लाइन बस्नुपर्ने बताएपछि विवाद भएको थियो। त्यसपछि हिजो प्रहरीले गुरुङलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। उनलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको बुझिएको छ । मन्त्री श्रेष्ठका व्यवहारप्रति भने सर्वत्र आलोचना भइरहेको छ ।

४. ली भदौ २७ गते नेपाल आउने    चीनको राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु भदौ २७ गते सोमबार नेपाल भ्रमणमा आउने भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीले भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमण गर्न लागेका हुन् । सभामुख सापकोटा र अध्यक्ष लीले प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग र प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ताको कार्यक्रम छ ।

५‍‍. खोटाङमा करेन्ट लागेर कर्मचारीको मृत्यु  खोटाङमा करेन्ट लागेर नेपाल विध्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका कार्यरत कर्मचारीको  मृत्यु भएको छ। विगत आठ-नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको करेन्ट लागेर मृत्यु भएको हो । मझुवागढीको बुईपा छापगाउँमा विद्युत मर्मतपछि र हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रसारण लाइनको तार छुन पुग्दा राईलाई करेन्ट लागेको विध्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताएका छन् । करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

६. काठमाडौँमा सवारी डाइभर्सन  काठमाडौँका विभिन्न ठाउँमा आज सवारी डाइभर्सन गरिएको छ। ढल निर्माण तथा कतै सडक मर्मतका कारण सवारी डाइभर्सन गरिएको हो । नागढुङगा–दहचोक सडकखण्ड हुँदै संचालन हुने सवारी साधनलाई आज पनि डाइभर्सन गरिएको छ। सडकमा हिमपाइप  राख्ने काम भएकाले चारपाङग्रे सवारी साधनलाई डाइभर्सन गरिएको हो । दहचोकको भट्टेडाँडा र नागढुङगाबाट सवारी साधनलाई ड्राईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। दुईपांग्रे सवारी साधन भने संचालन भइरहेका छन् । धोविखोला कोरिडोरका विभिन्न ठाउँमा पनि ढल निर्माणका कारण सवारी निर्वाधरुपमा चल्न सकेको छैनन् ।

७. क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु  क्यानडाको मध्य सास्काचेवान प्रान्तमा आक्रमणकारीको छुरा प्रहारबाट  १० जनाको मृत्यु भएको छ । छुरा प्रहारबाट १५ जनाभन्दा बढी मानिस घाइते भएका छन्। सास्काचेवान प्रान्तको उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसनमा दुई सदिंग्ध आक्रमणकारीको आक्रमणकारीको छुरा प्रहार गरेका थिए । विभिन्न  १३ स्थानमा घाइतेहरु फेला फेला परेको थियो। प्रहरीले ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको आशंका गरेको छ । यद्यपि उनीहरुबीच के सम्बन्ध थियो भन्ने कुराको पुष्टि हुन बाँकी रहेको छ । घटनामा संलग्नको खोजी कार्य जारी रहेको जनाइएको छ। घाइतेहरुको  विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री जस्टिन ट्रुर्डोले घटना भयावह र हृदयविकार भएको भन्दै सरकारले नजिकबाट नियालिरहेको बताएका छन् । २ हजार ५ सय जनसंख्या भएको जेम्स स्मिथ क्री क्षेत्रमा सो आक्रमण भएसँगै आपतकालको घोषणा गरिएको छ ।

८. बेलायतमा नयाँ कन्जरभेटिभ नेता  बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन् । छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन् । नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो। नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषी सुनक रहेका छन् । भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन्।  निर्वाचित भएमा मारगेट थ्याचर र थेरेसा मेपछिट्रस देशको तेस्रो महिला प्रधानमन्त्री हुनेछिन् । मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना प्रतिष्प्रर्धी ४२ वर्षीय सुनकभन्दा लगातार अगाडि छन्। आर्थिक अनियमितता र केही विवादास्पद घटनापछि बोरिस जोनसनले राजीनामाको घोषणा गरेसँगै नेतृत्वको प्रतिस्पर्धा जुलाईबाट सुरु भएको थियो ।

९. नेपाल क्लिन स्वीप गर्ने योजनामा   केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले आज दिउँसो पौने १ बजे केन्याको सामना गर्ने भएको हो । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ। तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ। यसअघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३–० ले आफ्नो बनाउन चाहन्छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो। केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ। नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

१०. स्पेनिस ला लिगा : भ्यालेन्सियाको फराकिलो जित स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा भ्यालेन्सियाले गेटाफेलाई ५–१ गोल अन्तरले पराजित गरेको  हो। भ्यालेन्सियका लागि टोनी लाटो, निको गोन्जालेजले एक एक गोल गरे भने सामुएल लिनोले तीन गोल । जितसँगै भ्यालेन्सियाले ४ खेलमा ६ अंक जोडेको छ। भ्यालेन्सिया दशौँ स्थानमा रहेको छ। गेटाफे १ अंक जोडेर १९औं स्थानमा रहेको छ। यस्तै अर्को खेलमा भने रोमाले उडीनेजेले ४–० गोल अन्तरले हराएको छ।