तस्वीर- इण्डियन एक्सप्रेस

अन्तर्राष्ट्रिय

उत्तर प्रदेशको लखनऊमा आगलागी, ४ जनाको मृत्यु

By खबरहब

September 05, 2022

काठमाडौँ- भारतको उत्तर प्रदेशमा आगलागी भएको छ । उत्तर प्रदेशको राजधानी लखनऊस्थित हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी भएको हो ।

आगलागीमा परी चार जनाको मृत्यु भएको भारतीय अखबार इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीले स्थानीय अस्पतालमा गई घाइतेहरुसँग भेट गरेको जनाइएको छ । जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।