फाइल तस्वीर

राजनीति

‘निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध’

By खबरहब

October 05, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालीहरूको महान् चाड बडादसैं २०७९ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् । सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताएका छन्  । साथै उनले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गरेका छन् ।

दसैँको अवसरमा प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत गरेका छन् ।