फाइल तस्वीर

देश/प्रदेश

पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध

By खबरहब

October 05, 2022

काठमाडौँ- पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीका अनुसार लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेको छ ।

सडक अवरुद्ध भएपछि बौदिकाली र बुलिङ्गटार गाउँपालिकाको यातायात सेवा ठप्प भएको छ ।

दललदलेबाट पहाडी क्षेत्रका लागि छुटेका र पहाडी क्षेत्रबाट दलदलेतर्फ आउँदै गरेका सवारीसाधन पाङ्रग्रेमा थन्किएका छन् । दसैँमा टीका थाप्न हिँडेका सयौँ यात्रु पैदल नै आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

उक्त क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । पहिरो झर्ने क्रम नरोकिएकाले सडक पुनः सञ्चालनमा कठिनाइ भएको पुरीले बताए ।

यसैबीच राइकोटबाट दलदलेका लागि छुटेको गण्डकी प्रदेश–०४–००१ ज ००६ नम्बरको जिप पहिरोमा परेको छ । जीपमाथि पहिरो खसे पनि त्यसमा सवार यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।