क्रिकेट

इंग्ल्याण्डको हारमाथि भर पर्नुपर्ने अष्ट्रेलियाको हविगत

By खबरहब

November 05, 2022

काठमाडौँ – अष्ट्रेलियामा जारी विश्वकप क्रिकेटको सुपर १२ को खेल सुरु हुनुअघि घरेलु टोलीले भारतलाई स्वागत गर्दै ‘वार्मअप म्याच’ खेल्यो। जुन केवल एक अर्कालाई अभ्यस्त गराउने खेल थियो। तर त्यही अभ्यस्त खेलमा भारतले अष्ट्रेलियालाई उसकै मैदानमा हरायो।

त्यो पनि विश्वकप सुरु हुनु केही दिन अघि। अन्तिम ओभरमा मोहम्मद शामीले ४ विकेट लिएर अष्ट्रेलियाको विकेट पतन गराउँदै ‘कोल्याप्स’ गरेको दृश्य हेर्न लायक थियो। जुन कथा डिफेन्डिङ च्याम्पियनको थियो।

अर्थात् अष्ट्रेलियाले अभ्यास खेल नै हारिसकेको थियो। त्यसको केही दिनपछि पहिलो खेल अष्ट्रेलियाको न्युजिल्याण्डसँग थियो। सुपर १२ अन्तर्गतको उद्घाटन खेल भनौँ। जहाँ गएको विश्वकपको विजेता र उपविजेता भिड्दै थिए।

न्युजिल्याण्डलाई विश्वकप उपाधि जित्न नदिएको रिस थियो। उसकै मैदानमा न्युजिल्याण्डले अष्ट्रेलियालाई हराएर बदला लियो। अर्थात् अष्ट्रेलिया यो विश्वकपको उद्घाटन खेलमै घरेलु मैदानमा पराजित भयो।

शनिबार हुने इंग्ल्याण्ड र श्रीलकांबीचको खेलले अष्ट्रेलियाको भाग्य तय हुनेछ। यो खेल श्रीलंकाले जितेको खण्डमा अष्ट्रेलियाको भाग्य खुल्नेछ। किनकि ऊ इंग्ल्याण्डलाई पछि पार्दै सेमिफाइनल पुग्नेछ। तर इंग्ल्याण्डले जितेको खण्डमा भने अष्ट्रेलियाको सपना चकनाचुर हुनेछ।

पहिलो खेलमै जित निकालेको न्युजिल्याण्ड समूह चरणको अन्तिम खेल जितेर ७ अंकसहित सेमिफाइनल पुगिसकेको छ। तर समान अंक भए पनि अष्ट्रेलिया सेमिफाइनल पुग्न इंग्ल्याण्ड र श्रीलंकाबीचको खेलको नतिजा पर्खिरहेको छ।

शनिबार हुने इंग्ल्याण्ड र श्रीलकांबीचको खेलले अष्ट्रेलियाको भाग्य तय हुनेछ। यदि यो खेल श्रीलकाले जितेको खण्डमा अष्ट्रेलियाको भाग्य खुल्नेछ। किनकि ऊ इंग्ल्याण्डलाई पछि पार्दै सेमिफाइनल पुग्नेछ। तर इंग्ल्याण्डले जितेको खण्डमा भने अष्ट्रेलियाको सपना चकनाचुर हुनेछ। समूह चरणमै विश्वकप क्रिकेटबाट बाहिरिएर टीभीमा आफ्नै देशमा चलिरहेको विश्वकप हेर्नुपर्नेछ।

पहिलो खेलमा न्युजिल्याण्डसँग हारेको अष्ट्रेलियाले दोस्रो खेलमा श्रीलंकालाई हरायो। यो खेलमा मार्कुस स्टोइनिसले धुवाँधार ब्याटिङ गरेका थिए। तेस्रो खेलमा वर्षा बाधक बन्यो। इंग्ल्याण्डसँगको महत्वपूर्ण खेलमा अष्ट्रेलिया अंक बाड्न बाध्य भयो। यदि यो खेल हारेको भए अष्ट्रेलियाको सम्भावना झन् कमजोर बन्ने थियो। तर खेल नै वर्षाले सुरु हुन नसकेपछि अष्ट्रेलियाको हारको पीडामा १ अंकले भए पनि राहत मिल्यो।

अब शनिबार इंग्ल्याण्ड र श्रीलंकाको अन्तिम लडाई अष्ट्रेलियाको आखिरी विश्वकप हुनेछ।

चौथो खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई हरायो। पाँचौ खेलमा शुक्रबार अष्ट्रेलियाले अफगानिस्तानमाथि साँघुरो जित निकाल्यो। मात्रै ४ रनको जित निकालेको अष्ट्रेलियाको रनरेट माइनसमा छ। जुन उसलाई विश्वकपको सेमिफाइनल पुग्न सबैभन्दा ठूलो टाउको दुखाई बनेको छ।

समान ७ अंक भए पनि प्लस रनरेटका आधारमा न्युजिल्याण्ड सेमिफाइनल पुगिसकेको छ। इंग्ल्याण्डको रनरेट पनि अष्ट्रेलियाको भन्दा राम्रो छ। प्लस रेनरेट भएको उसले शनिबारको अन्तिम खेल जितेमा स्वतः सेमिफाइनल पुग्नेछ। जित निकालेको खण्डमा इंग्ल्याण्डको पनि ७ अंक हुनेछ। र, मध्यम जितले पनि ऊ सहजै शीर्ष दुई टिममा पर्नेछ।

तर अफगानिस्तानमाथि भारी फराकिलो जित निकाल्नुपर्ने दबाबमा रहेको अष्ट्रेलिया झण्डै हारबाट गुज्रिन परेन। ग्लेन म्याक्सवेलले अलराउण्डर प्रदर्शन गरेका कारण अष्ट्रेलियाको सेमिफाइनल आशा जीवित रहेको हो। अब शनिबार इंग्ल्याण्ड र श्रीलंकाको अन्तिम लडाई अष्ट्रेलियाको आखिरी विश्वकप हुनेछ।

यदि भाग्यले साथ दिएर श्रीलंका विजयी भएको खण्डमा पनि सेमिफाइनलमा भारत वा दक्षिण अफ्रिकाको चुनौती पन्छाएर फाइनल पुग्न कठिन छ। किनकि आरोन फिन्चको चोट, स्टिभ स्मिथ र डेभिड वार्नर फर्ममा नरहेका कारण यसपटक अष्ट्रेलियालाई साँच्चिकै कठिन छ। तर यसका लागि त्यति टाढाको चिन्ता गर्नु पर्ने छैन। सम्भवतः शनिबार इंग्ल्याण्ड र श्रीलंकाबीचको खेलले नै अष्ट्रेलियाको हिसाबकिताब उसकै हातमा राखिदिनेछ।