फाइल फोटो

राजनीति

‘कांग्रेसले ढङ्गका साथ काम गर्न नसके जनताले साथ छोड्नेछन्’

By खबरहब

November 05, 2022

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेतृत्वको सरकार बनेपछि ढङ्गका साथ काम गर्न नसके जनताले साथ छाड्ने बताएका छन् ।

कांग्रेस सोलुखुम्बु काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने र कांग्रेस नेतृत्वको सरकारले काम गर्न नसके जनताले साथ छाड्ने बताएका हुन् ।

उनले निर्वाचन अघि कांग्रेसले जनतामाझ गरेका प्रतिवद्धताहरू सरकारमा पुगेपछि पुरा गर्नुपर्ने धारणा राखे । यसपटक जनताले आफूहरुलाई अन्तिम मौका दिने भन्दै उनले अन्तिम मौकाको सही तवरले सदुपयोग गर्नुपर्ने जिकिर गरे । थापाले बहुमतले गैरजिम्मेवार बनाउने अवस्था आउन नदिन सबै सजग हुनुपर्ने बताए ।

थापाले निर्वाचनको केही समयपछि परिणाम देखिने गरि काम गर्न नसके दुर्घटना हुने र यसको डर गठबन्धनका सबै नेताहरूलाई हुनुपर्ने उल्लेख गरे ।