काठमाडौँ – मंसिर ४ गते सम्पन्न संघीय निर्वाचनको परिणामबाट पुराना दलप्रति मतदाताको आक्रोश सार्वजनिक भएको छ। मीठा कुरा गर्ने, निरन्तर प्रतिबद्धता जनाउने तर काम नगर्ने शैलीविरुद्ध मतदाताले विद्रोह गरेका छन्। निर्वाचनले देखाएको मतपरिणाम र यसबाट बन्ने सरकार कस्तो र कसको नेतृत्वमा बन्ने, नयाँ राजनीतिक दलहरूले मूलधारमा रहेका राजनीतिक दलहरूलाई कसरी चुनौती दिन खोजेका छन् ? नेपालको भू-राजनीतिक महत्व र दलको भूमिकालगायत समसामयिक विषयमा केन्द्रित रहेर नयन सापकोटाले पूर्व-राजदूत दीपकुमार उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंश :
अहिले मूलधारको राजनीतिप्रति किन मतदातामा आक्रोश देखियो जस्तो लाग्छ ? लोकतन्त्र भनेको नागरिक सर्वोच्चता, विधिको शासन, पारदर्शिताको अनुशरण गर्ने ठाउँ हो। जसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने गर्छ। तर देशमा त्यो हुन सकेन। किनभने लोकतन्त्रको प्राण भनेको नै नैतिक चरित्र, इमान र मूल्यको राजनीतिमा हामी स्कलनको प्रक्रियामा छौं। समग्र राजनीति नै ओरालोमा छ। त्यसले जनतालाई हौसला नै भएन। देशका युवामा परनिर्भरता बढेको छ। ऋण बढेको छ। जति नै घोषण पत्रमा रोजगारीका कुरा गरे पनि त्यसको उल्टो भएको छ। युवा आफ्नो ज्यान हत्केलामा राखेर बाहिर पलायन भएका छन्। हामीले संविधान निर्माण गरे पनि यसले स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गरेको छैन र त्यसले पनि निराशा बढेकै देखिन्छ। प्रविधिको पहुँच बढेको छ। सबैको हातमा प्रविधि पुगेको छ। हिजोसम्म कता भोट हाल्ने देशलाई कता लैजाने भन्ने थियो। अहिले नागरिकको बुझाइ फरक भइसकेको छ। यसको नतिजा स्थानीय चुनावदेखि नै देखिन थालेको हो।
जनताले नयाँ व्यक्तिलाई ल्याए, यो क्षणभरको आकर्षण हो वा दूरगामी निर्णय हो ? हामीले परिस्थितिको बोध नगरेर जे बेल्यौँ त्यो परिणाम देखाउन सकेनौँ। हामीले व्यक्ति भन्दा पनि राष्ट्रिय बजेट खर्च गर्ने सामथ्र्य राख्न सकेनौँ। देशको खर्च र बेरोजगारी मात्र बढायौँ। देशको सुरक्षा परराष्ट्र नीति हामीले बनाउन सकेनौँ। मुखले बोले पनि परिणाम देखाउन सकेनौं। त्यसैले नयाँ पार्टीको आगमन भयो।
अहिलेको गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था के थियो, एउटाले छोड्दा अर्कोले समाउने अवस्थालाई बाध्यात्मक भन्ने कि प्रतिगमन फेरी जुर्मुरायो भन्ने ? स्वार्थको सुरक्षा नै यो गठबन्धनको उद्देश्य हो। सबैले आफ्नो सुरक्षा हेरे। हामीले १० देखि १२ सिट नजोडी सरकार नै बन्दैन र यसले कुनै परिणाम दिँदैन। अहिले पनि नेताहरूले यो कुरामा ध्यान नै दिएका छैनन्। अब दलहरू जोडेर १३८ को म्याजिक नम्बर को खोजी हुन्छ । त्यो बनाउँदा हिजो कति क्षति र बेथिती भयो भनेर अहिले नेताहरूले बिर्सिएका छन्। नेताको ध्यान फेरि पनि सत्तामै पुग्ने छ। तर त्यो टिकाउ हुँदैन। सबै दलले सबैलाई सांसद बनाउन सक्दैन र एउटा पनि विधेयक बन्दैन, विकृति आउँछ र भ्रष्टाचार बढ्छ। नयाँ युवाले यस्ता सवाललाई स्वीकार गर्दैनन्।
अहिले निर्वाचनले गर्नुपर्ने के थियो र देखायो के ? हामीले त्यो अवसर गुमायौँ। सबै पार्टी आआफ्नो ढंगबाट चुनाव लडेका भए एउटा छुट्टै राजनीतिक दृश्य देखिन्थ्यो। केही सिट घटे पनि देशका लागि त्यो राम्रो हुने थियो। चुनाव पछिको गठबन्धन आवश्यकता पछिको नैसर्गिक हुन्थ्यो। तर, स्वार्थ बोकेर आएका दलहरूले कसरी प्रधानमन्त्री हुने भन्नेमा मात्र ध्यान दिएको देखिन्छ।
नेपालका राजनीतिक दल देशको भन्दा पनि व्यक्तिगत स्वार्थको चिन्ता बढी गर्छन् किन ? अहिले आएका युवाहरूले भ्रष्टाचार गर्दिन, हुन दिन्न भन्छन्। हिजो केपी ओलीले पनि भनेका थिए। तर उनको समय कुशासनको नमूना भयो। ओलीको गलत गतिविधिकै कारण केही बाध्यात्मक परिस्थितमा नै हामीले अर्को सरकार बनायौं। तर, त्यसमा केही फरक भएन। जनताले त परिवर्तन खोज्यो।
यो जनमतले मधेशका पुराना प्रतिनिधिलाई पनि पाखा लगायो। अहिलेको निर्वाचनमा दक्षिण सीमाबाट केही चलखेल हुँदा पुराना दल र व्यक्ति पाखा लागेको चर्चा हुन्छ। यसमा केही सत्यता लुकेको छ भन्ने लाग्छ ? नेपालको भू–अवस्था अत्यन्त संवेदनशील छ। बाहिरका शक्तिले हामीलाई सधैँ फोर्समा राख्ने हुँदा बहुमतको सरकार नहुने समस्या देखिँदै आएको छ। सबै कुरामा नेताहरूको विवाद भएको पाइन्छ। खाने कुरामा विचार मिलेको छ तर देश निर्माण गर्ने कुरामा कोही एकमत छैनन्। त्यसैले जनमत टाढा टाढा गएको छ। अरुलाई दोष लगाउनु भन्दा पनि हामीसँगका देशहरू कहाँ पुगे ? यो पनि हेर्नुपर्छ। मौका नपाउँदासम्म सबै मान्छे इमानदार छन् तर मौका पाएपछि उनीहरूको मूल्याङ्कन हुन्छ।
देशको राजनीतिमा शक्ति राष्ट्रले खेलेको आरोप पनि लाग्ने गर्छ। अहिले तराई मधेशमा नयाँ शक्तिको उदय भएको छ। यसमा बाहिरी शक्तिको बल पनि छ जस्तो लाग्छ ? हामीले ठाउँ दिएका हौँ र उनीहरूले त्यो प्रयोग गरे। हामीले उनीहरूलाई अनुकूल बनाएका छौँ। हामीले सबै कुराहरू बिगार्दै छौँ। राष्ट्र जोगाउन बसेका नेताहरूले म म नगरेर सबैले राष्ट्रियताको ख्याल गर्नुपर्दछ, तब मात्र जनताले विश्वास गर्छन्। हामीले एउटा मार्ग चित्र तयार गरेर दलहरूले साझा पतिबद्धता बनाएर अगाडि बढ्नुपर्छ।
पाँच दलीय गठबन्धन भनिएको छ, सबैले आआफ्नो घोषण पत्र ल्याएका छन् यस्तो अवस्थामा नीति तथा कार्यक्रम कसरी बन्ला ? नैतिकता इमान नरहेपछि सबै कुरा बिग्रिन्छ। सबै मिलौँ भन्ने नै छैन। जसको बहुमत छ उसैको सरकार बनाऔं भन्ने धारण धेरैको छ। अहिले जसरी हुन्छ विजयी बनौं भन्ने धारणा मात्र देखिन्छ। कुनै पनि नेताहरूमा पश्चात्ताप नै देखिँदैन। हामीबाट गल्ती भएछ भन्ने नै छैन। यसले प्रमुख दलमाथि ठूलो प्रहार भइरहेको छ।
अहिलेको निर्वाचनमा माओवादीले गर्व गर्ने ठाउँ छ कि छैन ? यहाँ एमाले, कांग्रेस दुवै पार्टीले नैतिकताको हिसाबले गर्व गर्ने होइन क्षमा माग्नु पर्दछ। हामीले जनतालाई धेरै अनावश्यक कुराहरू भन्यौं र ती कुरा पुरा गर्न सकेनौं भनेर क्षमा माग्नुपर्छ। तर यो चिन्ता कुनै नेतामा देखिँदैन।
अहिलेको यो अवस्थामा कुन दलले नेतृत्व लिँदा राम्रो होला र अब कस्तो नेतृत्व हुनुपर्ला ? संसदीय लोकतन्त्रमा टाउको नै गन्ने हो। टिकट वितरण, प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचनमाको आधार हेर्ने हो भने शेरबहादुर देउवाको सहमति बिना अर्को नेतृत्व हुँदैन। त्यसमा उहाँले आफैले बुझेर अगाडि लैजानु पर्याे। तर कुरा त्यही पुग्छ। बाहिरी शक्तिले कसलाई बनाउँदा राम्रो हुन्छ भनेर खेल्न थाल्छन्। नेताको स्वार्थको लडाइँमा देशमाथि अर्कैले खेलेको अब जनताले बुझेका छन्। युवाहरूको पुस्तान्तरण हुनुपर्दछ। पुराना पुस्ताले जे गरे गरे उनीहरूलाई आदर सम्मानसहित सम्मानजनक बिदाइको बाटो रोज्नु पर्दछ। हामीलाई जनताले स्वीकार गरेनन् भन्ने कुराको महसुस नेताले गर्नुपर्छ।
कहिलेसम्म विचार नै नमिल्ने गठबन्धन अगाडि बढ्ला ? दुई तिहाइको वामपन्थी सरकार आफै पतन भएको हो। सबैले निजी स्वार्थलाई केन्द्रमा राखेका छन्। पार्टीका नेताहरूको खुट्टा खुकुरीको धारमा छ। तर अहिलेसम्म अनुभूति गरेका छैनन्। वातावरण हामी बनाउँछौँ तर बाहिरबाट कोही आउँछ र धार लगाएर जान्छ।
कस्तो अवस्थामा गठबन्धन कायम रहन्छ ? निष्पक्ष हिसाबले सहमति भएको भए राम्रो हुन्थ्यो। तर, कागजी रूपमा मात्र सहमति हुन्छ। यसले गठबन्धन कहिलेसम्म कायम रहन्छ भन्न सक्ने अवस्था छैन। प्रधानमन्त्री भएपछि गर्ने के हो भन्ने कुरा नै कसैलाई थाहा छैन। त्यसको खाका नै बन्दैन। संविधानमा हामीले शिक्षा, स्वास्थ्य लगायतका कुराहरू राख्छौँ तर कार्यान्वयन हुँदैन। यसले जजनतामा व्यप्त आक्रोश चुनावबाट सार्वजनिक भएको छ।
नेपालको राजनीतिमा कसले कसरी खेल्न खोजेको देख्नुहुन्छ ? समग्रमा एउटा भयावह वातावरण हुनसक्छ। जस्तो भारतमा मोदीले नैतिकता र इमानको कारणले विपक्षलाई दबाएका नै छन्। जुन अहिले नेपालमा छैन। देशप्रति नेताहरूले चिन्ता गर्ने, सुशासन ल्याउने हो भने युवाहरूलाई बाहिर पलायन हुनबाट रोक्न सकिन्छ। तर, नेताको ध्यान त्यता छैन। अरुले खेले भन्दा पनि हामी के गर्दैछौं भनेर हेर्नुपर्छ।
()
प्रस्तुति : पुष्पाञ्जली बस्नेत