फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

मानव अधिकारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष राष्ट्रसंघको माग

By खबरहब

December 05, 2022

काठमाडौँ– अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहायता नियोग युनामाले जरिफा याकुबी र अन्य मानव अधिकारवादीहरुलाई तत्काल रिहा गर्न तालिबानसँग माग गरेको छ ।

अफगानिस्तानमा शासन चलिइरहेको तालिबानले याकुबीसहितका मानव अधिकारवादीहरुलाई बन्दी बनाएको भन्दै युनामाले उनीहरुको अवस्था समेत अज्ञात रहेको जनाएको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार युनामाले बन्दी बनाइएकाहरुलाई उनीहरुका परिवारको सम्पर्कमा ल्याउन समेत तालिबानसँग आह्वान गरेको छ ।

पछिल्लो समय तालिबानको शासनमा रहेको अफगानिस्तानमा मानव अधिकारको अवस्था निकै खराब हुँदै गएकामा चिन्ता व्यक्त भइरहेका बेला मानव अधिकारवादीहरु बन्दी बनाइएका हुन् ।

पत्रकार एवम् मानव अधिकारकर्मी समेत रहेकी याकुबीलाई राजधानी काबुलको दस्त ए बर्ची क्षेत्रबाट तालिबानले नियन्त्रणमा लिएको जनाइएको छ । तालिबानले नियन्त्रणमा लिएयता उनको मोबाइलमा समेत सम्पर्क हुन नसकेको जनाइएको छ ।