तस्वीर- साइटेक डेली

अन्तर्राष्ट्रिय

श्रीलंकामा ‘समुद्री काँक्रो’ खेतीका लागि चिनियाँ लगानी बढ्दो

By खबरहब

December 05, 2022

काठमाडौँ- चीनले श्रीलंकामा समुद्री काँक्रो (सी क्युकम्बर) भनिने जीवको खेतीमा लगानी बढाइरहेको पाइएको छ । परम्परागत चिनियाँ औषधिमा प्रयोग हुने यस समुद्री जीवले शारीरिक शक्ति बढाउने र थकान घटाउने विश्वास गरिन्छ ।

जियो पोलिटिकका अनुसार चीनले श्रीलंकाको जाफ्नाको तटमा पर्ने आरियालाई गाउँमा चिनियाँ कम्पनी गुई लान प्रालीले कृत्रिम प्रजनन् एवम् उत्पादन केन्द्र स्थापना गरेको छ ।

समुद्री काँक्रो उत्पादनका लागि श्रीलंकाको मौसम अनुकूल भएपनि स्थानीय समुद्री जीव तथा तटीय क्षेत्रका बासिन्दाहरुको जीविकोपार्जनको स्रोत मानिने मत्स्य उद्योगकका लागि भने यसबाट निकै गम्भीर असर पर्ने जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२१ मा मात्रै श्रीलंकाले ३३६ टन समुद्री काँक्रो निर्यात गरेको थियो । यसको सबैभन्दा ठूलो हिस्सा चीनले आयात गरेको बताइएको छ ।

सन् २०२२ को जुन महिनामा श्रीलंकाली मन्त्रिपरिषदले मुलुकको उत्तरी एवम् पूर्वी क्षेत्रमा समुद्री काँक्रोको उत्पादनका लागि ५ हजार एकड क्षेत्रफल छुट्याउने निर्णय गरेको थियो ।