देश/प्रदेश

प्रदेश २ सरकारले सञ्चालन गर्‍यो अक्सिजन प्लान्ट

By खबरहब

January 06, 2022

जनकपुरधाम– कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकारको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबारदेखि आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो । जनकपुरधाम १४ मुलेजेलियास्थित मनिपालमा सञ्चालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट सुरु भएको छ । उक्त अक्सिजन प्लान्टका लागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामान उपलब्ध गराएको थियो ।

प्रतिष्ठानअन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरका अनुसार उक्त अक्सिजन प्लान्टबाट तत्काल दैनिक २५ देखि ३० सिलिण्डरसम्म अक्सिजन उत्पादन हुनेछ । आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि अब बिरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउँदै प्रशासन प्रमुख ठाकुरले भने, ‘कोरोना कालमा बढी बिरामीलाई अक्सिजन नै चाहिएकोले अव प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हदसम्म टरेको छ ।’ त्यस्तै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएको अर्को अक्सिजन प्लान्ट पनि अब केही महिनामै सञ्चालनमा आउने उनले बताए ।

अर्को अक्सिजन प्लान्टको काम पनि धमाधम भइरहेको बताउँदै उनले भने, ‘आपूर्ति केन्द्रले दिएको अक्सिजन प्लान्ट योभन्दा बढी क्षमताको छ, त्यो सञ्चालनमा आएपछि हामीलाई कुनै पनि वेला अक्सिजनको अभाव हुँदैन ।’