अन्तर्राष्ट्रिय

बेइजिङ ओलम्पिकः यस्तो छ चीनको कोभिड नीति

By खबरहब

February 06, 2022

बेइजिङ– २०२२ हिउँदे ओलम्पिकका लागि कोभिड सुरक्षाका आवश्यक सम्पूर्ण कदम चालेको बेइजिङले जनाएको छ । खेलाडीलाई संक्रमणबाट जोगाउन चीनले ठूलो पहल गर्दै आएको छ । खेलमा विदेशी दर्शकहरुलाई प्रतिबन्ध लगाइएको छ भने सर्वसाधारणहरुका लागि टिकट बिक्री गरिएको छैन ।

स्थानीय दर्शकहरुको समूहहरुलाई खेलमा ‘निम्तो’ दिइएको छ । उनीहरुले खेलअघि, खेलको समयमा र खेल हेर्दा कोभिड रोकथामका कठोर उपायहरु पालना गर्नुपर्नेछ । र, मानिसहरलाई चीनका अन्य भागबाट राजधानी बेइजिङमा यात्र नगर्न सुझाव दिइएको छ ।

सञ्चारकर्मी, सहभागी खेलाडी र पर्यवेक्षकहरुलाई भिन्दाभिन्दै स्थानमा राखिएको छ । ती स्थानमा प्रवेश गर्नुअघि जोकोही पनि पूर्ण खोप लगाएको वा २१ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

कोभिड परीक्षण दिनहुँ गर्नुपर्नेछ भने जतिबेला पनि मास्क लगाउनुपर्नेछ । कोभिड पोजेटिभ भएमा आइसोलेसनमा बस्नुपर्नेछ । पछिल्लो २४ घन्टाभित्र दुई ओटा नेगेटिभ रिपोर्ट आएपछि मात्र खेल्नका लागि अनुमति दिइनेछ ।

चीन उत्रिएपछि विदेशबाट आएका सहभागी ‘सील’ गरिएको विशेष क्षेत्रभित्र प्रवेश गरेका छन् । देश छोड्ने बेलासम्म उनीहरु त्यही रहनेछन् ।

स्वंयमसेवक, कुक, चालक र स्थानीय सहायताकर्मीसमेत विशेष क्षेत्रभित्र रहनेछन्। खेल अवधिभर उनीहरुको आफ्ना परिवारसहित बाहिरी संसारसँग भौतिक सम्पर्क हुनेछैन् ।