राजनीति

दाहालले एमसीसीलाई पत्र पठाएकोबारे पार्टीलाई जानकारी छः गजुरेल

By खबरहब

February 06, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको विषयमा पार्टीलाई जानकारी गराएको खुलेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र लेखेको जानकारी अनौपचारिक रूपमा अध्यक्ष दाहालले पार्टी बैठकमा गराएको जनाएका छन् ।

‘एमसीसीलाई लिएर अमेरिकालाई पत्र लेखेको जानकारी अध्यक्ष दाहालले पार्टीमा गराउनु भएको थियो,’ गजुरेलले भने, ‘तर, पार्टी बैठकमा औपचारिक छलफलको विषय नबने पनि अनौपचारिक जानकारी चाहिँ पत्र पठाएपछि गराउनु भएको थियो ।’

उनका अनुसार अध्यक्ष दाहालले एमसीसीका बारेमा पत्र लेखेको विषय माओवादीका सबै शीर्ष नेताहरू भने जानकार थिए ।