राजनीति

राप्रपाः लिङ्देन र थापाबीच भेट, निर्मल निवास हस्तक्षेपबारे छलफल

By खबरहब

February 06, 2022

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शनिबार लिङ्देन विशानगरस्थित थापाको निवास पुगेका थिए ।

भेटमा दुई नेताबीच पार्टीमा देखिएको विवादका विषयमा छलफल भएको थियो ।

महाधिवेशन सकिएको दुई महिनापछि दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न आफूले मंसिर २७ र माघ १६ मा अध्यक्षलाई पत्र लेखे पनि कुनै प्रत्युत्तर नआएको गुनासो गरेका थिए ।

जवाफमा लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘दुई नेताबीच अहिले देखिएका विषयमा लामो कुराकानी भयो । निवर्तमान अध्यक्षले राखेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘उहाँ (थापा) अध्यक्षज्यूको पत्रको प्रतीक्षामा हुनुहुन्छ ।’