क्रिकेट

धोनी र कोहलीको स्टाइलमा भारतले जितेको युवा विश्वकप

By खबरहब

February 06, 2022

काठमाडौँ– सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि भारतले जितेको जतिलाई याद छ, त्यतिलाई कप्तान महेन्द्रसिंह धोनीले अन्तिम बलमा छक्का हान्दै देशलाई च्याम्पियन बनाएको पनि राम्रोसँग थाहा हुनुपर्छ ।

धोनीको त्यही स्टाइलमा दिनेश बानाले छक्का हानेपछि भारतले १९ वर्ष मुनिको युवा विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार फाइनलमा इंग्ल्याण्डलाई ४ विकेटले हराउँदै भारतले पाँचौपटक विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

शनिबार रातिको फाइनलमा भारतलाई उपाधि जिताउँने क्रममा युवा विकेटकिपर तथा ब्याट्समेन बानाले लगातार दुई छक्का प्रहार गरे । उनले दुई छक्का प्रहार गरेपछि भारतले १४ बल अगावै ६ विकेट गुमाएर १९० रनको चुनौती पन्छाउँदै पाँचौ पटक विश्वकप उचालेको हो ।

भारतको जितमा बानाले ५ बलमा १३ रनको योगदान दिए भने शैक रशिद र निशान्त सिन्धु दुबैले अर्धशतक पूरा गर्दै भारतीय जितको आधार तयार पारेका थिए । कप्तान यश दुल १७ रन बनाएर आउट भएपनि राज बावाले ३५ रन बनाएर टिमको जितमा महत्वपूर्ण योगदान दिएका थिए ।

इंग्ल्याण्डका बोइडन, सेलस र थोमसले समान दुई दुई विकेट लिए । त्यसअघि नर्थ साउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १८९ रन बनाएको थियो । निकै खराब सुरुवात गरेको इंग्ल्याण्डका लागि जेम्सले ९५ रन बनाएर टिमको उद्धार गरेका थिए ।

इंग्लिस टिमलाई सस्तैमा अलआउट गर्न भारतका राज बाबाले ५ र रवि कुमारले ४ विकेट लिए ।

भविष्यको धोनी बन्ने धुनमा बाना

भारतका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको कप्तानी र ब्याटिङ जत्तिकै चर्चा फिनिशिङको पनि हुन्छ । धोनी कप्तान भएपछि प्रायः सातौ नम्बरमा ब्याटिङ गर्दै छक्का हानेर खेल जिताउँथे ।

भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा होस् वा आइपीएलमा, उनले अन्तिम बलमा छक्का हान्दै धेरै खेल जिताएका छन् । त्यसमध्ये विश्वकपमा उनले हानेको छक्का सर्वाधिक चर्चामा रह्यो ।

त्यही शैलीमा भारतका युवा विकेटकिपर बानाले पनि भारतलाई अन्तिमतिर लगातार दुई छक्का हानेर खेल जिताए । उनले हानेको अन्तिम छक्का त आफ्नै खेलाडी बसेको प्याराफिटमा पुगेको थियो ।

त्यही छक्काको उडानसँगै खेलाडी जुरुक्कै कुर्सीबाट उठेर खुशियाली मनाउन मैदानमा पुगेका थिए । सन् २०११ मा धोनीलाई जसरी नै बानालाई अंगालो हालेर भारतीय युवा टिमका खेलाडीले विश्वकप जितेको खुशियाली मनाएका थिए ।

यसले पनि भारतीय टिममा बानालाई भविष्यको धोनीका रुपमा हेरिएको छ । अहिले धोनीको विकल्पमा रिषभ पन्त छन् । आक्रामक ब्याटिङ गर्ने र विकेट पछाडि धोनी जत्तिकै सफल भूमिका निभाइरहेका पन्तको ‘रिप्लेसिङ’मा बाना पर्ने अनुमान छ ।

त्यसमाथि ब्याटिङ शैली, छक्का हान्न सक्ने क्षमता, प्याडदेखि ब्याट पोजिसनसमेत धोनीकै तबरमा मिलाउन सक्ने बानाले निरन्तर ‘एक्सपोजर’ पाए भारतीय क्रिकेटमा नयाँ सुपरस्टारका रुपमा उदाउने सम्भावना छ ।

विराट कोहलीको जस्तो यशको कप्तानी

भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान विराट कोहलीले सन् २००८ को विश्वकप जितेका थिए । विश्वकपमा शतक बनाएर चर्चामा आएका कोहलीले उपाधि जितेपछि झन् चर्चा चुलिएको थियो ।

त्यसको तीन वर्षपछि भारतले विश्वकप खेल्दा उनी टिमका मुख्य खेलाडीमध्येका एक भइसकेका थिए । त्यस्तै युवा विश्वकपबाटै उदाएका रिषभ पन्त पनि अहिले भारतीय टिमका मुख्य खेलाडी बनेका छन् ।

भारतले खेल्ने तीन वटै संरचनाका क्रिकेटमा पहिलो रोजाईका विकेटकिपर ब्याट्सम्यान बनेका पन्तले पनि १९ वर्षमुनिको विश्वकपमा शतक प्रहार गरेका थिए । त्यसपछि उनले आइपीएलमा दिल्लीबाट खेल्दै अर्को वर्ष शतक प्रहार गरेका थिए । त्यसपछि राष्ट्रिय टिममा परेका उनी पछाडि फर्किनु परेको छैन ।

ठीक यतिबेला सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध शतक बनाएर चर्चामा आएका कप्तान यश दुल पनि भविष्यका सुपरस्टार हुन सक्ने आकलन गरिएको छ । अष्ट्रेलियाजस्तो बलियो टिमसँग सेमिफाइनल खेल्दा ओपनर आउट भएपछि क्रिजमा पुगेका दुलले कप्तानी पारी खेलेर शतक बनाएका थिए । उनले कोहलीकै शैलीमा आक्रामक ब्याटिङ गरेर टिमको योगफल झण्डै तीन सयसम्म पुर्याएका थिए ।

१९ वर्षमूनिको विश्वकपमा शतक बनाउने दुल भारतका तेस्रो कप्तान हुन् । सन् २००८ मा कोहलीले शतक बनाउँदा सन् २०१२ को विश्वकपमा उन्मुक्त चन्दले शतक बनाएका थिए ।

यसपटक भने दुलले शतक बनाएपछि उनलाई भविष्यको कोहलीका रुपमा हेर्न थालिएको छ । त्यसमाथि भारतलाई विश्वकप जिताउने कप्तान बनेपछि उनको ब्याटिङ शैली थप चम्किने आश गरिएको छ ।

ब्याटिङमा कभर ड्राइभ र एग्रेसनमा पनि कोहली शैली पछ्याएका दुलले शतकपछि भनेका छन्, ‘मेरो क्रिकेटको सबैभन्दा ठूलो प्रेरणाको स्रोत विराट कोहली हुन् ।’

यसपटक भारतले युवा विश्वकप जित्दा भविष्यमा भारतीय राष्ट्रिय टिममा देखिने केही अनुहार पनि प्रष्ट भएका छन् । बाना र दुल जस्ता अथाह सम्भावना भएका युवा क्रिकेटरले भोलिको भारतीय टिम हाक्न सक्नेमा शंका छैन । अब केवल उनीहरुलाई मेहनत र ‘एक्सपोजर’ चाहिन्छ । त्यो त क्रिकेटको पावर हाउस भारतमा झन् असम्भव हुनै सक्दैन ।