फाइल फोटो

एमसीसीलाई चुनावपछि टुंग्याऔँः प्रचण्ड

By खबरहब

February 06, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन् ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका हुन् ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकोले एमसीसीलाई त्यसपछि टुंग्याउँदा ठिक हुने प्रचण्डको भनाइ थियो । तीत दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अघि बढाउन र त्यसमा सहयोग गर्न एमालेको सहयोग माग गरेका थिए ।

तर, प्रचण्डले भने आगामी वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसीसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेको पोखरेलले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनबाट समान दृष्टिकोण आउनुपर्ने बताएका थिए । सत्ता गठबन्धनबीच पनि फरक–फरक धारणा आउनु उपयुक्त नभएको उनको भनाइ थियो ।