अछामको सदरमुकाम हो, मंगलसेन । सदरमुकाम भएकै कारण मंगलसेन नगरपालिकामा विकासको आशा स्वभाविक छ । प्राकृतिक स्रोत साधनले र पर्यटकीय सम्भावना रहेपनि यो क्षेत्र सोचेजस्तो तवरले विकास हुन सकेको छैन । कालिका मन्दिर, कैलाशमुठ, जिमराडी, भट्टे मालिका, ठुलासैन मालिका जस्ता धार्मिक क्षेत्रले मंगलसेनलाई विशेष बनाएको छ । यस्तै अछाम दरबार नेपालको पुरातात्विक सम्पदामध्ये एउटा हो । जसले पश्चिम नेपालको तत्कालीन राज्यशक्तिको भौतिक संरचनाबारे पर्याप्त महत्व राख्छ । प्राकृतिक र ऐतिहासिक महत्वका पर्यटकीय क्षेत्रसँगै अरु समग्र विकासमा पनि मंगलसेन नगरपालिकाको काम सन्तोषजनक नभएको स्थानीयको भनाइ छ । यसै विषयमा मंगलसेन नगरपालिकाका मेयर पदमबहादुर बोहरासँग खबरहबका लागि माधव तिमिल्सिनाले गरेको कुराकानीको सम्पादित अंशः
तपाईले नगरपालिकाको मेयरको रुपमा कार्यभार सम्हालेको ४ बर्षमा सम्झनलायक के–के काम गर्नुभयो ?
हामी स्थानीय तहको चुनावमा निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य र कृषिमा महत्वपुर्ण काम गरेका छौँ । अर्को १४ वटै वडामा हामीले बाटो पुर्याएका छौं । त्यसपछि यस नगरपालिकामा २ वटा क्याम्पस छन् । ती २ वटै क्याम्पस पहिले टिनको छानामुनि सञ्चालित थिए भने अहिले आधुनिक भवनहरुको निर्माण सम्पन्न गरेका छौं । नागरिकलाई आत्मनिर्भर बनाउनका लागि कृषि क्षेत्रमा सबैभन्दा बढि लगानी गरेका छौं । खानेपानी आपुर्तिका लागि अहिले कैलाश खोला मंगलसेन दिप्त खानेपानीको टेन्डर भैरहेको छ । २ वटा दिप्त खानेपानीका कामहरु सञ्चालनमा छन् । यस नगरपालिकामा रहेका १४ वटा वडामा नै बाटो पुर्याइएकाे छ । पुर्वबाट पश्चिम र उत्तरतिर हुदै मध्यपहाडी राजमार्ग सञ्चालनमा छ । यस्ता थुपै्र कामहरु हामीले गरेका र्छौ ।
केहि समय अगाडिसम्म नगरपालिकाको मुख्य बजारमै पानीको समस्या थियो, अहिले पनि उनीहरुले पर्याप्त पानी नपाएको गुनासो गर्छन । अनि १४ वटै वडामा खानेपानीको सुविधा पुग्यो भनेर कसरी पत्याउने ?
मंगलसेन नगरपालिका बढि जसो उत्तरमोहडामा पर्ने हुनाले यहाँ पानीका स्रोतहरु प्रशस्त छन् । तर यी स्रोतहरुलाई अलिकति व्यवस्थित गर्न सकिएको छैन । पानीको त्यस्तो चरम अभावै त होइन । तर बजेटको कारणले गर्दाखेरि व्यवस्थापन गर्न केहि समस्या भएको हो । हामीले अब ठुलासेनमा डीप बोरिङबाट पानी निकालेर त्यहाको व्यवस्थापन गरिसकेका छौं । अहिले मंगलसेन बजारलाई पानीको अभाव नहोस् भनेर संघीय खानेपानी र हाम्रो साझेदारीमा कैलाशखोला दिप्त खानेपानीको टेन्डर भएको छ । अर्को घट्टेखोला पोखरा भन्ने ठाउमा पनि दिप्त खानेपानीको टेन्डर भएर काम सञ्चालन भैरहेको छ । त्यसोभएर खानेपानीको क्रमिक रुपले सुधार हुदैँ गइरहेको छ ।
अहिले कुन क्षेत्र र विषयलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? अहिले पनि हाम्रो प्रमुख प्राथमिकता भनेको कृषि, शिक्षा र स्वास्थ्य नै हो । प्रत्येक वडामा स्वास्थ्य चौकीहरु निर्माण भैरहेका छन् । त्यस्तै कृषिमा हामीले प्रत्येक वडामा किसानलाई आत्मनिर्भर बनाउनको लागि पोलीहाउसको टनेल वितरण गर्ने, सिँचाइ पोखरी निर्माण गर्ने र मंगलसेन नगरपालिका भित्रमा कृषि उपज संकलन तथा वितरण केन्द्रको स्थापना गरेका छौं । कृषि क्षेत्रमा हामीले भैसीँपालन पकेट क्षेत्र मध्यपहाडी राजमार्ग करिडोर भैँसीपालन दुध व्यवसाय क्षेत्र घोषणा गरेका छौं । केहि ठाउँमा हामीले बाख्रापालन, केहि ठाउँमा कुखुरा पालन, केहि ठाउँमा मंगलसेन रामारोशन पर्यटकीय मार्ग करिडोरमा हामीले पोलीहाउस तरकारी खेती पकेट क्षेत्र, कहीँ आलु पकेट क्षेत्र, कैलाश खोलामा धान, गहुँ पकेट क्षेत्रको रुपमा यसरी विभाजन गरेर काम गर्ने गरेका छौं ।
आर्थिक समृद्धिको आधार मानिने पर्यटकीय आकर्षणहरु नगरपालिकामा के–के छन् ?
हाम्रो क्षेत्रमा पर्यटकीय सम्भावना बोकेका धेरै क्षेत्र छन् । कालिका मन्दिर, कैलाशमुठ, जिमराडी, भट्टे मालिका, ठुलासैन मालिका जस्ता धार्मिक क्षेत्र, अछाम क्षेत्र, अछाम दरबार, जस्ता पुरातत्व सम्पदाका साथै हाम्रो नगरपालिकाका मुख्य पर्यटकीय क्षेत्रहरु हुन् । मंगलसेनको पुर्वदेखि पश्चिमसम्म लेक पर्दछ । पश्चिममा सेती छोएको छ भने पुर्वमा रामारोशन पर्यटकीय क्षेत्रलाई छोएको छ । त्यसको तल बस्ती, लाशखोलामा ठुलठुला फाँटहरु रहेका छन् । माथि लेकाली भेगमा हिउँदमा हिँउ पनि पर्छ । भट्टे, सुरीकोट, मालिका, गाजकोट, धुम्रलोचोनी, अयारको बण्ड पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भनेर हामीले चुनावमै घोषणापत्र बनाएका थियौँ ।
तर अहिले त्यो घोषणापत्र अनुसार काम गरेको त देखिएन भन्छन्, स्थानीय ?
हामीले २०७६ सालमा नेपालभरी १०० वटा उत्कृष्ट पर्यटकीय गन्तव्यमा मंगलसेन क्षेत्रका पर्यटकीय क्षेत्रलाई पार्न सफल भएका थियौँ । त्योबाहेक हामीले त्यहाँ संरचनाहरु, मन्दिरहरु बनाउने, पुरानो ताल अयारको बण्डलाई पनि संरक्षण गरिरहेका छौं । सुर्यकोट भन्ने ठाउँमा पहिल्यै परापुर्वकालमा पाँचौ शताब्दीतिर अछामी राजाको पहिलो दरबार रहेछ । त्यहा एउटा ताल पनि रहेछ, त्यो संरक्षणको पर्खाइमा छ । त्यो ताललाई संरक्षण गर्ने काममा लागिरहेका छौं । यी पर्यटकीय क्षेत्रलाई अझै बलियो बनाएर लैजानका लागि अहिले संघबाट पनि हामीलाई आएको रकममध्ये ३ करोड जति रुपैयाँ आर्थिक वर्ष ०७६–७७ मा खर्च ग¥यौं । अहिले पनि ३ करोडको टेन्डर भएको छ । अहिले काम भएको छ । नगरपालिकाको लगानीबाट हामीले केही क्षेत्रको डीपीआर बनाएका छौँ । जति काम गरेको छौँ, त्यो सुरुवात हो । सुरुमा सबै विकास नै गरेजस्तो नदेखिन सक्छ ।
अछाम भनेवित्तिकै सुदूरपश्चिमको पहाडी क्षेत्रको विकट र तर विकास हुने क्रममा रहेको जिल्लाका रुपमा चिन्ने गरिन्छ । प्रदेश सरकारसँग मिलेर नगरपालिकाले के कस्ता काम अघि बढाएको छ ?
प्रदेश सरकार हामीभन्दा माथिको निकाय हो । तर हामीले प्रदेश सरकारबाट त्यति धेरै सहयोग, साथ र आवश्यक पर्दा अभिभावकत्व पाएका छैनौँ । हाम्रो आवश्यकताअनुरुप हामीलाई स्रोत साधन र अधिकार दिन मानिरहेको छैन । हाम्रो आवश्यकता एउटा हुन्छ । तर प्रदेशका योजनाहरु कहाँबाट आउछन्, हामी थाहा पाउँदैनौँ । कुनै ठाउमा अर्बौ रुपैयाँ जान्छ । कुनै ठाउँमा पाच लाख दश लाखका दरले आउँछ । त्यसैले हामी असन्तुष्ट छौँ । हाम्रो नगरपालिकाभित्र ठुला वृह्त योजना आएका छैनन् । २०५८ सालमा ध्वस्त भएको अछाम दरबार अहिलेसम्म बनिसकेको छैन । २०६५ सालमा सुरु भएको हो । तर अहिलेसम्म नबनेको अवस्था छ । मंगलसेनमा २०३२ सालमा स्थापना भएको अछाम अस्पताल टिनको छानामुनि अहिले पनि सञ्चालन भैरहेको छ । संघ प्रदेशले केहि हेरेको छैन । हामी सम्पर्कमा त छौं । तर हामीले भनेजति स्रोतसाधन पाइरहेको अवस्था छैन ।
स्थानीय सरकारका जनप्रतिनिधिले आफ्ना चिनेका कार्यकर्ता, आफैलाई बढी फाइदा हुने ठाउँमा मात्रै बजेट र योजना हाल्ने गरेको गुनासो पनि त्यत्तिकै छ । प्रदेशसँग बजेट माग्दा पनि त्यही स्वार्थ मिलेको देखिदैन । चुनाव जितिसकेपछि यस्तो सोच कहाँबाट आउँछ ?
हामीसँग भएको स्रोत साधनले मात्र सम्भव छैन । प्रदेशले पनि अब समान किसिमले जस्तै अछाम जिल्लामै प्रदेश सरकारले एउटा सडकमा एक करोड रुपैयाँ छुट्यायो । त्यहाँ काम भयो । अब एउटा मंगलसेनको एउटा वडामा सडकमा २० लाख छुट्याइदियो । यो समान भयो त ? मंगलसेनदेखि रामानरोशन जाने पर्यटकीय मार्गमा २० लाख छुट्याउँछन् र बान्नीगढीदेखि दर्ना जाने बाटामा अनुदानसहित एक करोड रुपैयाँ छुट्याउछन् । त्यसैले हामी पीडित छौँ । हामीले बाटो त पु¥यायौं । हामीसँग सानो जेसीबी डोजर र टिप्पर पनि छ । त्यसैले बाटो खनेका छौं । तर त्यसलाई सुदृढीकरण गर्नका लागि संघ र प्रदेशको हमीलाई स्रोतको आवश्यक छ । प्रदेशबाट आउने बजेट हामी हेर्न पाउँदैनौँ । कार्यकर्तालाई कमिसनको भरमा आउँछ । उनीहरु हामीले ल्याएको योजना भन्छन् । उपभोक्ता समिति आफुलाई बनाउन नदिएपछि उनीहरु बजेट फ्रीज गराउने धुनमा लाग्छन् । कार्यकर्तालाई पनि कसलाई प्राथमिकता दिने भन्ने समस्या छ । मिडिया र बाहिरिया मान्छेले कार्यकर्तालाई बाड्यो भन्छन् । हामीले केही पाएनौँ, अवसर र पद पाएनौँ भन्ने गुनासो कार्यकर्ता गर्छन् । हाम्रोमा यस्तो छ । अरु ठाउँमा पनि यस्तै होला ।
मंगलसेन नगरपालिकाका सबै ठाउँमा गाडीको सेवा सुविधा छैन । धेरै वृद्धवृद्धालाई सामान्य लेखपढ गर्न पनि आउँदैन । सरकारले दिने सामाजिक सुरक्षा भत्ता तपाईको पालिकाले कसरी वितरण गर्दै छ ?
मंगलसेन नगरपालिका सबैभन्दा उत्कृष्ट नगरपालिका हो । सबैभन्दा पहिला सामाजिक सुरक्षा भत्ता वितरण गर्ने हामी हौँ । असोजमा वितरण गरिसक्छौं । फागुनभित्र वितरण गरि सक्छौं । असारको पहिलो हप्ता वितरण गरि सक्छौं । अहिले बैंकमार्फत वितरण गर्ने गर्छौ । १३ नम्बर वडा धेरै विकट छ । त्यहा आफै उपस्थित भएर बाड्ने गथ्र्यौ । त्यसलाई पनि बैंकिङ प्रणालीमार्फत ल्याइएको छ ।
तपाईको पालिकामा विद्यालय शिक्षाको अवस्था के छ ?
विद्यालय शिक्षाको अवस्था अस्तव्यस्त छ । शिक्षक छैन । दरबन्दी छैन । दरबन्दीका शिक्षक छैन । भौतिक संरचनाको अभाव छ ।
विद्यालय शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई संविधानले दिएको छ, यति धेरै लापरबाही किन गर्नु भएको हो ?
हामीलाई बजेटको अभाव पनि छ । तालिमप्राप्त शिक्षकको अभाव छ । शैक्षिक साम्रगीको अभाव छ । अभाव नै अभाव छ । विद्यालयको पहँुचभन्दा बाहिर प्रायः हाम्रो नगरपालिकामा छैन । धेरै जसो अभियान सञ्चालन गरेका कारणले पनि विद्यार्थी विद्यालयमा आउँछन् । सामुदायिक विद्यालयमा फराकिला कोठा छन् । शिक्षक छन् । शैक्षिक साम्रगी छन । त्यहाँ भर्ना दर कम छ । कोठा पनि नभएका, टिनका छानामुनि पढाइने निजि विद्यालयमा भने भर्नादर बढि छ । यतातिर अलिकति सरकारको नीतिमा पनि केहि परिवर्तन हुन आवश्यक छ । नीति माथि अर्कै हुन्छ, तल अवस्था अर्कै छ । अनि कसरी सुधार हुन्छ ?
गाउँबाट सहर हुँदै विदेश गइरहेका युवालाई गाउँघरमै रोजगारी दिने र त्यस्ता रोजगारीका अवसर सिर्जना गर्ने केही काम भएका छन् त ?
युवालाई स्वरोजगार बनाउनको लागि हामीले त धेरै कार्यक्रम घोषणा गरेका छौँ । तर युवाहरु काम गर्न तयार छैनन् । बाँझो जग्गा पुराना झारपातले बुट्टयान भैसकेका छन् । नगरपालिकाले अनुदान दिन्छ । ३० रोपनिभन्दा माथि खेती किसानी गर्ने वा सँगै खेती सँगै वनजङ्गल बनाउनुस् हामी अनुदान दिन्छौँ भनेका छौं । तर मानिसहरुले गरिरहेका छैनन् । तर विदेश गएपछि गाउँघरमा काम पाएनौँ भनेर गुनासो गर्छन । अहिले धेरै मानिसले भैँसी पाल्न छाडिसके । गोरु जोत्न छोडिसके । विदेशमा बरु गधा जोत्न रुचाउछन् तर आफ्नै जग्गामा गोरु जोत्दैनन् । यस्तो परिस्थितिमा सरकारको नीति राम्रो आउनुपर्याे । हामीले बोलेर कराएर के हुन्छ ?
भैंसीपालनका लागि भारतको हरिद्वारबाट ल्याएर आठ वटा राँगा वितरण गरेका छौं । प्रत्येक वर्ष बोका पनि वितरण गरेका छौं । कुखुरा वितरण गर्ने गरेका छौँ । पोषणयुक्त क्षेत्रमा सुधार ल्याउनका लागि प्रत्येक वर्ष बीउविजन वितरण गर्ने गरेका छौं । प्रत्येकको घरमा करेसाबारी हुनुपर्छ । तरकारी लगाएको हुनुपर्छ । तरकारी खाएको हुनुपर्छ भनेर करेसाबारीको अवधारणा ल्याएका छौं । तर उपलब्धी देखिदैन । कृषि शाखा छ, त्यहाँ छुट्टै बजेट छुट्टयाएको छ । हामी आइसकेपछि यस नगरपालिकाका १४ वटै वडामा कृषि प्राविधिक राखेका छौं । पशु प्राविधिक राखेका छौं । तर पनि नागरिकले नगरपालिकाबाट सेवा सुविधा लिन सकेका छैनन् ।