समाचार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सर्लाहीमा साताव्यापी मनाइने

By खबरहब

March 06, 2022

सर्लाही – नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम)संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएको छ ।

संघले हरेक वर्ष मार्च ८ मा श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न स्थानमा सचेतनादेखि अनुगमनसम्मको गतिविधि गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

अनेम संघ सर्लाहीकी अध्यक्ष कल्पना कटुवालले २७ फागुनसम्म विभिन्न गतिविधि गरिने बताइन् । संघले मानवसेवा आश्रममा फलफूल वितरण गरेको छ ।

आइतबार पद्म भुवनेश्वरी नमुना बृद्धा सेवा आश्रम लालबन्दीमा बृद्धबृद्धालाई मिष्ठान्न भोजन गराउने संघले जनाएको छ ।

सोमबारदेखि बर्थिङ सेन्टरको अनुगमन गर्ने र सरोकावाला समूहसँग अन्तर्क्रिया गर्ने, महिला भेला तथा स्थानीय निर्वाचन केन्द्रित महिला सशक्तिकरणका लागि सचेतना कार्यक्रम गर्ने र २७ फागुनमा चन्द्रनगर गाउँपालिकास्थित नारीमैनताल प्रांगणमा अभियानको समीक्षासहित समापन गरिने कटुवालले जानकारी दिइन् ।