तस्वीर- ग्लोबलटाइम्स

अन्तर्राष्ट्रिय

अमेरिका र चीनका विदेशमन्त्रीबीच कुराकानी

By खबरहब

March 06, 2022

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन वार्ता भएको छ । सो फोनवार्ताका क्रममा दुई विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध एवम् पछिल्लो समय विकसित विश्व राजनीतिक घटनाक्रमबारे कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

फोनवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गरेको सिन्ह्वाले जनाएको छ । युक्रेनमा रुसद्वारा जारी हमलाको अमेरिकाले विरोध गर्दै आएको छ ।

उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीनले त्यो नचाहेको जवाफ दिएका थिए ।

युक्रेनमा रुसले गएको ११ दिन देखि सैनिक कारवाही गरिरहेको छ । युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने बताइएको छ ।