तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

क्वाडको बैठकमा चीनलाई चेतावनी

By खबरहब

March 06, 2022

काठमाडौं– हालै अमेरिका भारत जापान र अष्ट्रेलिया गरी हिन्द प्रशान्त क्षेत्रका चार मुलुकहरु सम्मिलित ‘क्वाडलाटरल सेक्युरिटी डाइलग’ क्वाडको भर्चुअल बैठक बस्यो । जारी युक्रेनी सङ्कटबारे छलफल गर्न बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघीय वडापत्र, अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकता र भौगोलिक अखण्डताको महत्वमा जोड दिए ।

‘युक्रेनमा जारी रुसी आक्रमण र हिन्द प्रशान्तसहित विश्वभर सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति हाम्रो प्रतिबद्धताबारे मैले क्वाडका नेताहरु अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री किसिडा फुमियोसँग भेट गरेँ ।’ अमेरिकी राष्ट्रपति जो बाइडनले बैठकलगत्तै ट्वीट गरे । क्वाडका नेताहरूले उक्त बैठकमा युक्रेनमा जे भइरहेको छ त्यसलाई हिन्द प्रशान्त क्षेत्रमा दोहोर्‍याउन नदिने सहमति गरेको जापानी प्रधानमन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा सबै राष्ट्रहरुको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानका साथ कुनै किसिमको सैनिक आर्थिक र राजनीतिक हस्तक्षेपबाट मुक्त खुला र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रप्रति प्रतिबद्धता जाहेर गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई नाम उल्लेख नगरी चीनविरुद्ध क्वाडले दिएको चेतावनीका रुपमा विश्लेषण गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा यस बैठकका क्रममा यसअघि सन् २०२१ को सेप्टेम्बरमा भएको शिखर सम्मेलनयता भएका प्रगतिबारे छलफल भएको जनाइएकोछ  ।

प्रधानमन्त्री मोदीले क्वाडले हिन्द प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र समृद्धिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।