समाचार

आगलागी घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त

By खबरहब

March 06, 2022

दमौली- तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान भएको आगलागी घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।

आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकोप्टरबाट दमौली आइपुगेका मन्त्री श्रेष्ठले पीडितलाई भेटी दुःख व्यक्त गरेका हुन्  ।

मन्त्री श्रेष्ठले पीडित परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गरे । ‘अब बस्ने मन्त्रिपरिषद् बैठकमा आगलागी पीडितलाई क्षतिपूर्ति प्रदान गर्नका लागि पहल गर्छु’, श्रेष्ठले भने । 

जनतालाई परेको पिरमर्कामा अहिलेको गठबन्धनको सरकार क्रियाशील भएर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले भने ‘सरकार जनताको अभिभावक हो, जनतालाई परेको पिरमर्कामा सरकार सधैँ जनताको साथमा छ ।’