समाचार

एकीकृत कृषि बजार भवन हस्तान्तरण

By खबरहब

March 06, 2022

बैतडी- स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहज रूपमा बजारीकरण गर्न बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले ठेक्कामार्फत् भवन निर्माण गरेको हो । ३६ लाख ५१ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न सजिलो होस् भनेर भवन निर्माण गरिएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख टीकाराम थापाले बताए । उक्त भवनको कार्यक्रमको आयोजना गरेर नगरस्तरीय कृषि बजार तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

नगरपालिकाको रोहबरमा समितिलाई भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण कार्यक्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

 भवन निर्माण भएपछि किसानले उत्पादन गरेको तरकारी, फलफूललगायत उपजहरूलाई एकीकृत रूपमा बजारीकरण गर्न सहज हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चौधरीले बताए ।