फाइल तस्वीर

अन्तर्राष्ट्रिय

राजपाक्षेका निकटस्थ भन्छन्- ‘राष्ट्रपतिले कुनै हालतमा राजीनामा दिनुहुन्न’

By खबरहब

April 06, 2022

काठमाडौं– तीव्र जनअसन्तुष्टि एवम् हिंसात्मक प्रदर्शनको सामना गरिरहेका श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षेले कुनै हालतमा राजीनामा नदिने उनको निकटस्थले बताएका छन् ।

श्रीलंकाली संसद्मा सम्बोधन गर्दै सरकारका प्रमुख सचेतक जोन्स्टन फर्नाण्डोले राष्ट्रपतिले राजीनामा नदिने बताएका हुन् ।

उनले ६९ लाख जनताको मतबाट राष्ट्रपतिले जनादेश प्राप्त गरेको भन्दै राजीनामा नदिने अडान लिएको श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

‘जिम्मेवार सरकारका नाताले राष्ट्रपति गोताबाया राजपाक्षेले कुनै हालतमा पनि राजीनामा दिनुहुनेछैन ।’ फर्नाण्डोलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

सरकारको समर्थन गर्ने ४१ जना सांसदले सत्तारुढ गठबन्धन परित्याग गरेपछि राजनीतिक संकट झेलिरहेका श्रीलंकाली राष्ट्रपति भने कुर्सी बचाउन लागि परेको भन्दै व्यापक जनआक्रोश बढ्दै गएको छ ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेको श्रीलंकामा राष्ट्रपति तथा सरकारविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ ।