काठमाडौं- अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।
अमेरिका, बेलायत र अष्ट्रेलिया सम्मिलित अकस त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स प्रविधिमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
अकस सुरक्षा गठबन्धन गठनमा सम्मिलित तीन मुलुकका नेताहरूले रक्षा सहयोगका क्षेत्रमा नयाँ घोषणा गर्दै ‘साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि र समुद्रमुनि रक्षा क्षमतामा सहयोगलाई अझ गहिरो बनाउनका लागि थप प्रयास गर्ने’ बताएका छन् ।
गठबन्धनअन्तर्गत अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक पनडुब्बीहरू पनि प्रदान गर्ने बाचा गरेका छन् ।
फ्रान्सले भने यसलाई ठूला शक्तिहरू बीच हतियार दौडको संज्ञा दिँदै यसले थप त्रास सिर्जना गर्ने र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउने टिप्पणी गर्दै आएको छ ।