ब्रेकिङ स्टोरी

एक जनाको आँखाले दिन्छ ४ जनालाई दृष्टि

By विना न्यौपाने

May 06, 2022

काठमाडौँ – स्वस्थ आँखा भएका व्यक्तिले मृत्युपश्चात आफ्नो आँखाको नानी दान गर्न सक्छन् । त्यसका लागि देहावसान हुनुअघि नै आँखाको नानी दान गर्ने इच्छापत्रमा मञ्जुरी दिनुपर्छ । आँखाको नानी दान गर्न इच्छापत्रमा मञ्जुरी जनाएका मानिसको मृत्यु भएको ८ घण्टाभित्र आँखाको नानी निकालेमा दृष्टि गुमाएका व्यक्तिले नयाँ दृष्टि पाउँछन् ।

नेपाल आँखा बैंकले अब एकजना व्यक्तिले दान गरेको दुईवटा आँखाबाट ४ जनालाई दृष्टि प्रदान गर्ने प्रविधि सञ्चालन गरेको छ । तिलगंगा आँखा प्रतिष्ठानमा रहेको नेपाल आँखा बैंकले एकवर्ष अघिदेखि एकजना व्यक्तिको दुईवटा आँखाबाट ४ जनालाई दृष्टि प्रदान गर्न शुरु गरेको हो ।

नेपालमा आँखा प्रत्यारोपणले छोटो समयमै ठ्लो फड्को मारेको आँखा रोग विशेषज्ञ डा. रीता गुरुङ बताउँछिन् । सुरुवातमा आँखाको नानी दान गर्नेको संख्या निकै कम थियो । विस्तारै आँखा दान गर्नेको संख्या बढ्दै गइरहेकाले प्रत्यारोपणका लागि लामो समयसम्म कुर्नुपर्ने अवस्था घट्दै गएको छ। २७ वर्षमा ६ हजार २५९ आँखा प्रत्यारोपण गरिएको आँखा बैंकको भनाइ छ ।

मृत्यु भएपछि १४ घन्टाको अवधिसम्म प्रत्यारोपण गर्न मिल्ने दुवै आँखामा जन्मजात समस्या, भिटामिन ए डिफिएन्सी, चोटपटक र संक्रमणजस्ता विभिन्न कारणबाट दृष्टिमा हुने समस्याका लागि कर्निया प्रत्यारोपण मुख्य समाधान बन्न थालेको छ। नेपाल आँखा बैंकका अनुसार बर्सेनि पाँच सयदेखि १३ सयभन्दा बढी आँखाको नानी प्रत्यारोपण हुने गरेको छ।

सामान्यतया व्यक्तिको मृत्यु भएपछि १४ घन्टाको अवधिसम्म प्रत्यारोपण गर्न मिल्ने भएकाले कर्निया प्रत्यारोपण अन्य अंग प्रत्यारोपणको तुलनामा सहज बन्दै गएको आँखा विशेषज्ञहरू बताउँछन्। कर्नियामा रक्तसञ्चार नहुने, जुनसुकै उमेर समूह र स्वस्थ अवस्था भएको व्यक्तिबाट लिइएको कर्निया अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने भएकाले समेत प्रत्यारोपणको संख्या धेरै रहेको तिलगंगा आँखा अस्पतालकी प्रत्यारोपण विशेषज्ञ डा. लिना बज्राचार्य बताउँछिन्।

आँखाको प्रत्यारोपणले छोटो समयमै ठूलो फड्को  २०५१ देखि नेपालमा सुरु भएको आँखा प्रत्यारोपणले छोटो समयमै ठूलो फड्को मारेको छ। पहिलोपटक ३ मंसिर ०५१ मा काठमाडौं ढोकाटोलकी चिनीमाया तुलाधरले आँखाको नानी दान गरेसँगै कर्निया प्रत्यारोपण थालिएको थियो। त्यसयता हालसम्म ११ हजार भन्दा धेरै जनाले आँखाको नानी (कर्निया) दान गरिसकेका छन्। नेपाल आँखा बैंकका अनुसार सुरुवाती वर्षमा दुईवटा आँखाको नानी मात्र दान गरिएको थियो।

त्यसयता सबैभन्दा धेरै सन् २०१९ मा आँखाको कर्निया दान गरिएको थियो। एक वर्षमा मात्रै एक हजार तीन सय ४८ कर्निया आँखा बैंकमा उपलब्ध भएका थिए। तर, कोभिड महामारीको सुरुसँगै आँखा बैंकमा कर्निया संकलन र प्रत्यारोपण दुवैमा कमी आएको छ। सन् २०२० मा ६ सय २५ वटा मात्रै आँखाको नानी संकलन भएका थिए। २०२१ मा आठ सय एक र यो वर्ष ९३ वटा आँखाको नानी दानमार्फत प्राप्त भएको आँखा बैंकले जानकारी दिएको छ ।

प्रत्यारोपण असफल हुने दर न्यून कर्नियामा हुने समस्या अन्धोपन (मोतियाबिन्दु) पछिको मुख्य कारणमध्येमा पर्ने गर्छ। नेपालमा कर्निया प्रत्यारोपण ५२ देखि ९३ प्रतिशतसम्म सफल भएको देखिन्छ। अंग लिने व्यक्तिको स्वास्थ्य अवस्थाका आधारमा प्रत्यारोपणपछि जुनसुकै समयमा पनि ‘रिजेक्सन’ हुने सम्भावना रहन्छन्। ‘प्रत्यारोपण गरेको दशौँ वर्षपछि पनि तन्तुहरूको रियाक्सनका कारण रिजेक्सनको सम्भावना रहन्छ। यसका लागि शल्यक्रिया गरेको एक वर्षको अवधिमा एक–एक महिना र विस्तारै दुईदेखि ६ महिनाको अन्तरालमा आँखाको नियमित परीक्षण गर्नुपर्ने हुन्छ ।

प्रत्यारोपणपछि स्टेरोइड औषधि प्रयोगमा ल्याइने गरिन्छ, जसले शरीरको प्रतिरोधी क्षमता कम गर्ने भएकाले संक्रमणको प्रबल सम्भावना रहने डा. गुरुङ बताउँछिन्। ‘शल्यक्रियाको क्रममा लगाइएका टाँकाहरू खोल्न एक वर्षसम्म लाग्ने भएकाले उपचारको प्रक्रिया लामो हुँदा सँगै जोखिम पनि रहने भएकाले प्रत्यारोपण सबै व्यक्तिमा सफल हुन्छ भन्ने हुँदैन। तसर्थ बिरामी सधैँ उपचारका लागि तयारी अवस्थामा रहनुपर्छ,’ उनले भनिन्।

एक व्यक्तिको आँखा ४ जनालाई मिल्ने गरी कसरी बनाइन्छ ? आँखा दान गर्न इच्छापत्रको फारम भरेका व्यक्तिको मृत्युपश्चात उनीहरूको आँखाको नानी नेपाल आँखा बैंकका प्रतिनिधिले मृत्यु भएको ८ घण्टाभित्रमा निकाल्छन् ।

मृतकको आँखाको नानी लिकालेपछि आँखा बैंकका प्राविधिकले एचआइभी, हेपटाइटिस बी, सी र सिफलिस लगायतका रोगहरूको परीक्षण गर्छन् । ती सबै परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा उक्त आँखाको भाग प्रयोग गर्न उपयुक्त छ वा छैन भनेर अर्को परीक्षण गरिन्छ ।

आँखाको नानीमा भएका कोषहरूको परीक्षण  आँखाको नानीमा भएको कोषहरूको अवस्था परीक्षणमा आँखा प्रत्यारोपण गर्न मिल्ने भएमा आँखा बैंकमा भित्रिएको नयाँ प्रविधि ‘लायमिलर टिस्यु प्रोसेसिङ रुम’मा लगिन्छ ।

आँखा बैंकका आइ बैंकिङ ट्रेननर तथा प्राविधिक यजन राज भण्डारीका अनुसार एक व्यक्तिको आँखालाई ४ जना व्यक्तिको लागि उपयुक्त हुने गरी तयार पार्न २० मिनेट लाग्छ । भण्डारीका अनुसार एक व्यक्तिको एउटा आँखाको नानीमा ५ वटा तह हुन्छ । लायमिलर टिस्यु प्रोसेसिङ प्रविधिबाट तयार पारिएको आँखालाई माथिल्लो र तल्लो तहमा प्रत्यारोपण गरेर नयाँ दृष्टि प्रदान गर्न सकिन्छ । यो प्रविधिबाट तयार पारिएको आँखाका तहहरूबाट दृष्टि समेत राम्रो हुने भण्डारीको भनाइ छ ।

‘यो शुरु भएको एकवर्ष जति भयो, यो चाँहि एउटा आँखाबाट दुईजनामा गरी एक व्यक्तिको दुईवटा आँखाले ४ जनालाई दृष्टि प्रदान गर्न सकिन्छ,’ आँखा बैंकका ट्रेनर भण्डारीले भने, ‘एकजनाको आँखालाई ४ जनामा राख्न मिल्ने गरी तयार पार्न निकै संवेदनशील भएर आँखाको तहहरू प्रविधिको माध्ययमबाट छुट्याउँछौं । त्यसरी तयार पारेको तहहरू आँखाका सर्जनहरूले दृष्टि नहुनेहरूमा सहज रुपमा राख्न सक्छन्।’

टिस्यु प्रोसेसिङ कसरी हुन्छ ? आँखा बैंकका ट्रेनर भण्डारीका अनुसार दाताले दिएको आँखाको तह छुट्याउन ‘मोरिया’ नाम गरेको मेसिनको प्रयोग हुन्छ । सो मेसिनमा नाइट्रोजन ग्यास हुन्छ । उक्त ग्यासले ‘टर्वाइन’को माध्ययमबाट आँखाको तहहरू काटिन्छ । त्यसरी टिस्यु प्रोसेसिङमा काम गर्ने प्राविधिकले निकै संवेदनशील भएर आँखाको तह छुट्याउनुपर्छ । टवाईनको सहयोगमा आँखाको तह काट्दा ध्यान दिएर २ देखि ४ सेकेन्ड भित्रमा तह छुट्याइसक्नु पर्छ ।

त्यसरी आँखाको तह काट्दा काट्नु अघि र काटिसकेपछि त्यसको मोटाइ प्याकिमेटर नाम उपकरणबाट नापिन्छ । सो नापपछि प्राविधिकले नै आँखाको कुन भाग अगाडि र कुन भाग पछाडिको हो भनेर छुट्याएर आँखालाई असर पर्ने कलर प्रयोग गरिन्छ ।

टर्वाइनको माध्ययमबाट आँखाको तहहरू छुट्याइँदै दाताले दिएको आँखालाई टिस्यु प्रोसेसिङ प्रविधिले छुट्याउँदा धेरै व्यक्तिमा दृष्टि प्रदान गर्न सकिने आँखा बैंकका ट्रेनर भण्डारीको भनाइ छ।

‘हामीले दृष्टि गुमाएका आँखाका बिरामीलाई दृष्टि प्रदान गर्न यो प्रविधिबाट आँखाको तहहरू छुट्याउने गरेका छौँ । दाताले दिएको एउटा आँखाबाट दुईतहमा छुट्याएर माथिल्लो तह र तल्लो तहमा हुने सर्जरीमा प्रयोग गर्न सकिन्छ,’ भण्डारीले भने, ‘यसरी तयार पारिएको आँखालाई सर्जनहरूले सहज रुपमा तयार पछौं ।

यसरी तयार पारिएको आँखालाई चिकित्सकले सहज रुपमा आँखाको नानीमा समस्या भएका बिरामीलाई प्रत्यारोपण गर्न सकिने आँखा बैंकका ट्रेनर भण्डारीले बताए ।

आँखामा राख्न तयारी गरिएको नानी ८० हजार नेपालीले आँखा दान गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । २०५१ साल अगाडि विभिन्न कारणले आँखाको दृष्टि गुमाएकाहरूले नेपालमा उपचार पाउँदैन थिए।

तिलगंगा आँखा प्रतिष्ठानमा नेपाल आँखा बैंक स्थापना भएपछि भने मोतियाविन्दु तथा विभिन्न कारणले आँखाको दृष्टि गुमाएकाहरूले नेपालमै ज्योति पाउन थाले । आँखा बैंकको तथ्यांकको अनुसार पहिलो पटक आँखा दान गर्ने काठमाडौंकी चिनिमाया तुलाधर थिइन् । उनी पहिलो पटक दुवै आँखा दान गर्ने पहिलो व्यक्ति हुन् ।

हाल देशभर तिलगंगा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका १० वटा आँखा अस्पतालले आँखाको प्रत्यारोपण गर्दै आएका छन्। पछिल्लो समय मृत्युपछि आँखा दान गर्ने क्रम बढ्दै गएकाले माग सहज बन्दै गएको चिकित्सकहरू बताउँछन्।

आँखारोग विशेषज्ञ डा. रीता गुरुङ भन्छिन्, ‘पहिला सुरु गर्दा आँखाको नानी दान गर्नेको संख्या निकै कम थियो, विस्तारै आँखा दान गर्नेको संख्या बढ्दै गइरहेकाले प्रत्यारोपणका लागि लामो समयसम्म कुर्नुपर्ने अवस्था घट्दै गएको छ।