काठमाडौँ- कमेडी तथा सोसल ड्रामा फिल्म ‘के घर के डेरा’ मुहूर्त भएको छ । यही २२ गतेबाट फिल्म छायांकनमा जाने भनिएता पनि स्थानीय तहको निर्वाचन पश्चात मात्र फिल्म छायांकनमा जाने भएको छ ।
स्वयम्भुस्थित हारती माताको मन्दिरमा मुहूर्त गर्दै फिल्मको एक दृश्यको छायांकन समेत गरिएको छ । ‘फिल्मलाई चुनाव पश्चात नै छायांकन लाने तयारी गरेका छौँ । फिल्ममा म निर्देशक भएसँगै यसको कथालाई केहि परिवर्तन गर्दै मेरो शैलीमा ढालेको छु । फिल्मको कथा , कमेडी , रोदनमा मेरो शैली पाउनु हुनेछ’ निर्देशक दीपेन्द्र के खनालले बताए ।
मुहूर्तमा पुगेका अभिनेता विपिन कार्कीले पनि फिल्मले काठमाडौँमा डेरामा बस्नेको कथा भन्ने बताए । ‘काठमाडौँमा आएर डेरामा बसेका हरेकले यो कथा रिलेट गर्छन । मैले कथा पढ्दै गर्दा डेरामा भोगेको घटनाक्रम पाए । एक किसिमले मैले डेरामा बस्दा भोगेको परिस्थिति फिल्ममा छ’ विपिनले भने । उनले फिल्ममा हासो र रोदनको मिश्रण पाइने समेत बताए । मुहूर्तमा दीपेन्द्र र विपिनसँगै निर्माताहरूको उपस्थिति थियो ।
फिल्ममा विपिनसँगै दयाहाङ राई, वर्षा राउत , सुरक्षा पन्त र रविन्द्र झाको मुख्य भूमिका रहने छ । निर्देशक खनालले ‘झोले’ पछि दयाहाङ, ‘पशुपति प्रसाद’ पछि विपिन र ‘चंगा चेट’ पछि रविन्द्रसँग सहकार्य गर्न लागेका छन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने ।
घर भएका र घर नभएका दुवै वर्गको कथामा फिल्म बन्ने बताइएको छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्म आउँदो वर्ष प्रदर्शनमा आउने छ ।