काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग पराजित भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१ ओभर ३ बलमा समेटिदा मात्र १ सय ३६ रन बनाउन सफल भएको थियो । नेपालका लागि सोमपाल कामीले ३० र करन केसीले २५ रन जोडे ।
कुशल भुर्तेलले १९ रन र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । नेपाललाई सस्तैमा समेट्न जिम्बाब्वे ‘ए’ का ब्राड इभान्सले ४ र ब्राण्डन मभुटाले २ विकेट लिए ।
१ सय ३७ रनको लक्ष्य जिम्बाब्वे ए ले २६ ओभरमा ७ विकेट गुमाएर भेटायो । उसको जितमा इनोसेन्स काईआले ४८ रन र सेफास जुवाओले ३२ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र करन केसीले २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।
सिरिज अन्तर्गतको दोस्रो एक दिवसीय खेलमा नेपाल र जिम्बाब्वे ‘ए’ भोलि बिहान साढे ९ बजे भिड्नेछन् । तेस्रो खेल भने बैशाख २६ गते हुनेछ ।
यसअघि दुई देशबीच सम्पन्न भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।
अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।