औषधी/उपचार

माइग्रेनले टाउको दुख्ने समस्या र यसको समाधान

By विपना थापा

June 06, 2022

अहिलेको समयमा माइग्रेनको समस्या धेरै बढिरहेको छ । लगभग ९० प्रतिशत मानिसमा वर्षमा एक पटक टाउको दुखेको हुन्छ । टाउको धेरै दुखेको अवस्थालाई दुई भागमा वर्गीकरण गरिन्छ । प्राइमरी र सेकेन्डरी । सेकेन्डरीमा अन्य केहि कारणले टाउको दुख्छ भने प्राइमरीमा अन्य कारण हुँदैन।

यसको मुख्य कारण नै माइग्रेन हो । करिब १६ प्रतिशत मानिसमा टाउको दुखाइको कारण भनेको माइग्रेन हो । पुरुषमा भन्दा महिलामा माइग्रेन तीन गुणाले बढी छ । महिलामा माइग्रेनको समस्या पचास वर्ष अगाडि नै देखा पर्ने गरेको छ। यो समस्या बाल्यकाल र किशोर अवस्थामा पनि देखापर्छ ।

माइग्रेन भएको कसरी थाहा पाउने ? यसका विभिन्न लक्ष्यण छन् । माइग्रेन हुदाँ बेस्सरी टाउको त दुख्छ नै । कसैलाई आधा भागमा दुख्छ । चार घण्टादेखि ७२ घण्टासम्म दुख्छ । कसैको आवाज सुन्दा, होहल्लामा जादाँ अझै बढी दुख्ने गर्छ ।

माइग्रेन हुदाँ उल्टी आउला जस्तो हुने र कसैलाई उल्टी हुने पनि हुन्छ । एउटा मानिसलाई तीनदेखि चारपटकसम्म यस्तो समस्या देखियो भने माइग्रेनको समस्या भएको बुझनुपर्छ।

माइग्रेनको समस्या युवा पुस्तामा बढी माइग्रेन प्राइमरी हुन्छ । टाउको दुख्ने मुख्य कारण भनेको तनाव हो । युवाहरुले खानपानमा ध्यान नदिनु, निद्रा नपुग्नु, धुम्रपान, मद्यपान बढी गर्नाले माइग्रेन धेरै बढ्न सक्छ ।

माइग्रेन भएका व्यक्तिले दूध, दही आइसक्रिम, अचार, चकलेट खादाँ समस्या झन बढ्ने गर्छ । युवा पुस्ताले धेरै इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्ने र समयमा नसुत्ने भएकाले माइग्रेन बढेको पाइन्छ ।

नेपालको पछिल्लो अवस्था पहिलेका मानिस टाउको दुखे पनि परम्परागत तरिकाले उपचार गर्थे । आजभोली धेरै बढेको छ । तर पनि सबै टाउको दुखाई माइग्रेन नहुनसक्छ । सिभिएर टाउको दुखाई मध्ये ५ प्रतिशत अन्य कारण हुन्छ ।

टाउको दुख्यो भन्दैमा माइग्रेन नै हो भनेर बस्नु हुँदैन । अन्य कारणले पनि दुखेको हुनसक्छ । टाउकोमा रगत जमेर, ट्युमर भएमा वा आँखाको कारणले पनि टाउको दुखेको हुनसक्छ । यी कुरालाई विचार गर्नुपर्ने हुन्छ ।

टेन्सन हेडएक र माइग्रेन हेडएक प्राइमरी हेडएक मुख्य कारण भनेको त तनाव नै हो । टेन्सन हेडएक बिहान उठ्दा फ्रेस हुने र बिहान साँझ भएपछि फेरि टाउको दुख्ने हुन्छ । यस्तो समस्या हुदाँ मान्छेले आफनो काम गरिरहेको हुन्छ । काममा असर पर्दैन ।

तर, माइग्रेनमा भने सिभिएर पेन हुन्छ । ४ घण्टादेखि ७२ घण्टासम्म टाउको दुख्ने भएकाले काममा पनि असर गर्छ । वंशानुगत कारणले पनि माइग्रेन हुने गर्छ ।

उपचार कसरी गर्ने ? सबै भन्दा पहिले त हामीले खाना, निन्द्रा, व्यायाममा ध्यान दिनुपर्ने हुन्छ । साथै तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ । यदी कसैलाई तीन चार महिनामा एकपटक माइग्रेन हुन्छ भने माइग्रेन हुने समयमा मात्र औषधि खानुपर्छ ।

कसैलाई निरन्तर टाउको दुखिरहन्छ भने औषधि खानुपर्छ । कतिपय औषधिको साइड इफेक्ट हुन्छ भने कतिको हुँदैन। कसैलाई तौल बढ्ने हुन्छ । औषधि भने मानिसको अवस्था बुझेर घटाउने, बढाउने गरिन्छ ।

समयमै उपचार नगरे के हुन्छ ? माइग्रेन हुँदा औषधि खायो भने बानी पर्छ । सधैभरी खानु पर्ला कि भन्ने डरले नखाई बस्ने हाम्रो मानसिकता छ । यो सधै भरी खानै पर्ने औषधि होइन । र, खाँदैमा बानी पनि पर्दैन ।

बरु औषधि नखाँदा अझै धेरै समस्या देखा पर्नसक्छ । नियमित डाक्टरको सल्लाहमा औषधि सेवन गर्नु उपयुक्त हुन्छ । जीवनशैलीमा परिवर्तन गरेर स्वस्थ्य जीवनशैली जिउन सकियो भने यस्ता समस्याबाट बच्न सकिन्छ ।