काठमाडौँ– कपडामा लुकाएर सुन ल्याउँदै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, चिनियाँ नागरिक लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत छन् ।
नेपाल वायु सेवा निगमको जहाजमा दुवईबाट काठमाडौं आएका सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिर जाँच गर्दा उनीहरूको साथमा सुन भेटिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएको सुन फेला परेको थियो ।
सुरेशको साथबाट ३ सय १६ ग्राम ८१ मिलिग्राम र सन्दिपको साथबाट ५ सय ७२ ग्राम १ सय ६० मिलिग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । अनुसन्धान क्रममा उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।