क्रिकेट

महिला क्रिकेट- नेपालद्वारा भुटान ४ विकेटले पराजित

By खबरहब

June 06, 2022

काठमाडौँ- आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्व कप एसियाली छनोटमा नेपालले दोस्रो जित निकालेको छ । मलेसियाको क्वाललम्पुरमा भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको हो ।

भुटनले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालको जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन् भने साना प्रवीणले १२ रन जोडिन् । टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।

नेपालका लागि अनु कडायत, मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले २–२ तथा स्नेहा महराले १ विकेट लिइन् । ३ खेलमा २ मा जित निकालेको नेपाल खेल तालिकामा ४ अङ्कसहित तेस्रो स्थानमा छ । ३ खेल नै जितेको थाइल्याण्ड दोस्रो र यूएई शीर्ष स्थानमा रहेको छ ।

१ खेलमा जित निकालेको मलेसिया चौथो स्थानमा छ । सबै ३ खेलमा पराजित कतार पाँचौँ र भुटान पुछारमा रहेको छ । मंगलबार हुने खेलमा नेपाल र थाइल्याण्ड बिहान सवा ७ बजे आमने सामने हुनेछन् । छनोटको अन्तिम खेलमा नेपाल र मलेसिया बिहीबार भिड्नेछन् ।