ब्रेकिङ स्टोरी

प्रतिबद्धता सहितको सहमति पत्रमा हस्ताक्षर भएपछि काठमाडौंको फोहोर भोलिबाट उठ्ने

By खबरहब

June 06, 2022

काठमाडौं- लामो समयदेखी सडकमा थुप्रिएको काठमाडौं महानगरको फोहोर भोलिबाट उठाउने सहमति भएको छ ।

जेठ १६ गतेबाट रोकिएको काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि सिसडोल बन्चरेडाँडा लैजान दिने सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित भएको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल-बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

प्रतिवद्धतासहितको सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको छ ।सहमतिपत्रमा प्रभावित क्षेत्रका मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ । सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने पनि महानगरपालिकाको प्रतिवद्धता जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।