औषधी/उपचार

नशा रोगको समस्या र समयमै उपचारको खाँचो

By खबरहब

July 06, 2022

धेरै मानिसलाई हातखुट्टा झम्झमाउने, निदाउने, पोलेको अनुभव हुने जस्ता समस्या भइरहेका हुन्छन्। मानिसमा यस्तो समस्या किन भएको हो भन्ने कुराको अन्योल भएको देखिन्छ।

यस्ता समस्या प्रायजसो हाम्रो शरीरको नशा या मसिना नशाको समस्याले गर्दा अथवा कमजोरीले गर्दा देखापर्ने चिकित्सकले बताएका छन्। कुनै पनि ठाउँमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे बसेको पोजिसन परिवर्तन गर्ने वा एकछिन उभिने वा हिँड्ने गर्नु पर्दछ।

यसो गर्दा रगत संचालन पुन सजिलै हुन्छ र झमझम गर्ने समस्या हट्छ। तर, यदि दैनिक सजिल्यै बसेको बेला पनि हात खुट्टा निदाउँछ भने हामीले यो पनि बुझ्न जरुरी छ कि शरीरमा रगतको संचालन मात्र नभई अन्य कुनै रोगको कारण यस्तो भइराखेको छ। यो बेला तुरन्त डाक्टरको सलाल्ह लिनुपर्छ।

लामो समयसम्म एकै पोजिसनमा बसीरहदा यस्तो महसुस हुने गर्दछ। यसरी झमझम गर्नु वा शरीरको अंग निदाउनु हाम्रो शरीरको रक्त संचार सहि तरिकाले नहुनु हो। हामी कुनै ठाउँमा लामो समय एकै पोजिसनले बसेको हुन्छौँ।

उक्त समय शरीरको कुनै पनि अंग थिचिएको हुन सक्छ। उक्त भागमा रगत संचालन कम हुन्छ वा रगत संचालन रोकिन्छ यस्तो हुँदा उक्त अंग निदाएको वा झमझम गर्ने हुन्छ।

हातखुट्टा किन झम्झमाउँछ ? हातखुट्टा झमझमाउँनु, पोल्नु, निदाउनु अनुभूतिसँग जोडिएको कुरा हो, बाहिरबाट केही नदेखिने तर भित्री रुपमा यो समस्या धेरै मानिसमा हुन्छ। यो प्राय नशाको कारणले हुन्छ। समान्यतया इन्डोक्राइनल (हर्मोनको गढबढीं), हाइपरथाइराडिज्मका कारण हुनेगर्छ।

तर, पैताला पोल्नु, झमझम गर्नु, निदाउनु नशाको कारणले हुने गर्छ। नशाको सिस्टममा केन्द्रीय स्नायु तन्त्र अन्तर्गत सबै भन्दामाथि मस्तिष्कसँगै मेरुदण्ड जोडिएको छ। मेरुदण्डबाट निस्किएको स्नायु हाम्रो शरीर भरिनै फैलिएको हुन्छ।

स्नायुको काम भनेको छालाबाट भित्री अंगबाट अनुभूतिलाई मस्तिष्कसम्म पुर्याउनु हो। अनुभूति दिने नशामा समस्या आयो भने विभिन्न प्रकारका लक्षण देखिने गर्छन। शक्ति दिने नशामा समस्या भयो भने झमझम गर्ने, दुख्ने, पोल्ने समस्या हुन्छ।

नशा खराब किन हुन्छ ? हामीले चोटपटक लागेर, तन्केर, पोलेर मात्र नशा खराव हुन्छ भनेर बुझ्छौ। तर, अरु विभिन्न कारणले नशा खराव हुन्छ। कहिलेकाही बच्चा उल्टो भयो, बच्चा अड्कियो भने तानेर निकाल्दा नशा तन्किने, चुडिने हुन्छ।

रक्सी धेरै खाने, पेट्रोलियम पदार्थमा काम गर्ने व्यक्तिहरुमा पनि यो समस्या हुन्छ। हाम्रो शरीरमा भएका रोग जस्तै सुगर, थाइराइड ,मोटोपना, प्रेगेनेन्ट, बाथ छ भनेजस्तै नशा खराव हुन्छ। चोटपटक लागेर, तन्केर , पोलेर नशा खराव भएको छैन भने शरीरमा अन्य रोग छन् भन्ने बुझ्नुपर्छ।

दुई प्रकारको नशाको समस्या नशाका समस्या दुई प्रकारको हुन्छ। मोनोन्युरोप्याथी एउटा नशामा देखिने समस्या हो। जहाँ हातको नाडीमा समस्या हुने, खुट्टाको गोलीगाँठामा समस्या हुन्छ। कसैलाई कुष्ठरोगको कारणले सुपरफिसियल स्नायुमा असर गर्छ।

हातको कान्छी औंलाको भागमा पोल्ने, झमझमाउने र दुख्ने हुन्छ। यस्तै पोलिन्युरोप्याथीमा एकै पटक धेरै दुई वटै खुट्टा पैताला बाट पोल्न सुरु भएर गोडादेखि हातसम्म पुग्छ। सुगरको समस्या छ भने यो समस्या बढ्दै गएपछि पुरै शरीरमा फैलिन सक्छ। मोनोन्युरोप्याथी र पोलिन्युरोप्याथी दुवै समस्या उत्तिकै मात्रामा देखिने गरेको छ।

कुन उमेर समूहमा बढी देखिएको छ ? सामान्यतया यो समस्या सुगर, प्रेसर, थाइराइड भएका व्यक्ति, मदिरा सेवन गर्ने व्यक्तिमा देखिने गर्छ। वयस्कदेखि वृद्धसम्मका व्यक्तिमा यो समस्या धेरै पाइन्छ।

बालबालिकामा पनि यो समस्या देखिने गरेको छ। बच्चा उल्टो भयो, बच्चा अड्कियो भने तानेर निकाल्दा नशा तन्किने, चुडिने हुन्छ। यो समस्या जुन उमेर समूहमा पनि हुन्छ। तर, वयस्कदेखि वृद्धसम्मका व्यक्तिमा धेरै पाइन्छ।

खुट्टा निदाउँदैमा पार्किन्सस हुँदैन् नशा सम्बन्धी रोग र पार्किन्सस फरक रोग हुन। नशा सबन्धी रोग र पार्किन्सस एकै पटक हुनसक्छ। पार्किन्सस ब्रेनमा समस्या भएर हुने रोग हो।

पार्किन्सस हुँदा मानिस शिथिल हुँदै जाने, हातखुटट हल्लिदै जाने, शरीर कडा हुँदै जाने, हिड्दा ब्यालेन्स गर्न गाह्रो हुने समस्या देखिन्छन्। पार्किन्सस वृद्ध अवस्थामा लाग्ने भएकाले त्यस्ता व्यक्तिमा नशा सम्बन्धी रोग पनि सँगै लाग्ने गर्छ।

उपचारको पक्रिया के छ ? भिटामिन बी १, बी ६, १२ को कमीले पनि नशाको समस्या हुनेगर्छ। कारण पत्ता लगाएर उपचार गरियो भने समस्या निर्मुल पार्न सकिन्छ। बच्चा जन्मिदा पहिलो दुई वर्ष मात्र नशाको विकास हुन्छ।

पछि एउटा कोषिका बाट दुई वटा सेल बन्छ र कनेक्सन मात्र बढ्छ। त्यो अवधिमा ग्रोथ हुँदैन। यो समस्याको समयमै कारण पत्ता लगाएर छिटो उपचार गरियो भने ठिक हुन्छ। तर, धेरै जना नशा खराव भइसकेपछि मात्र आउनुहुन्छ।

हातखुट्टा पोल्ने, झमझम गर्ने भएको छ भने नशा खराव भएको छ छैन भनेर नर्भ कन्डक्सन परीक्षण गरिन्छ। यसबाट नशा खराब भएको छ छैन, छ भने कुन प्रकारको हानी भएको छ थाहा पाउन सकिन्छ। नशा खराब हुने धेरै कारण छन्।

सुगर, प्रेसर, थाइराइड हो या धेरै मदिरा सेवन गरेर यस्तो समस्या देखिएको हो भने पत्ता लगाएर उपचार गरियो भने पनि निको पार्न सकिन्छ। घरमा आफै ठिक हुन्छ भनेर बस्नु हुँदैन, समयमा चिकित्सकको सल्लाह लिनुपर्छ।

समयमै सावधानी अपनाउनु राम्रो धेरै मानिस विदेश गएर लिड, थेलियम, मर्करी, लगाएतका पदार्थ भएका मेसिनमा काम गर्नुपर्ने बाध्यता छ। पेन्टिङ लगाएतका काम गर्दा पनि यो समस्या हुनेगर्छ। शरीरमा विभिन्न रोग छन् भने पनि यो समस्या हुनेगर्छ।

के कारणले यो रोग लाग्छ ?

कस्ता मेडिकल रोगले यो समस्या निम्ताउँछ भनेर जान्न जरुरी हुन्छ। सँगै लाइफ स्टाइलमा परिवर्तन गर्नुपर्छ। मदिरा सेवन नगर्ने, मोटोपना हुन नदिने, ब्यालेन्स डाइटमा ध्यान दिनुपर्छ। समयसमयमा सुगर, प्रेसर, थाइराइडको जाँच गरियो भने समस्याबाट बच्न सकिन्छ। (नशा रोग विज्ञ डा. रागेश कर्णसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)