फाइल फोटो

देश/प्रदेश

विराटनगरमा सडक मानवमुक्त अभियान सञ्चालन

By खबरहब

July 06, 2022

वीरगंज – विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो ।

महानगरले सडक मानवमुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताए । उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन् । अशक्त र सहाराविहीनलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ ।

‘परिश्रम गरेर पनि खान सक्ने व्यक्ति मागेर खाने गरेको देखियो । यो समाजका लागि ठीक होइन । गर्न सक्नेले काम गरेर खानु पर्‍यो’, प्रमुख कोइरालाले भने ।

महानगरले फुटपाथ खाली गर्ने अभियानलाई तीव्रता दिएको छ । नाली नै जाम हुने गरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ ।

त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिन पनि महानगर अग्रसर भएको छ । खसी, बाख्रा, गाई र भैँसी नियन्त्रणमा लिएर जरिवाना तिराएर सम्बन्धित पशुधनीलाई बुझाइएको महानगरले जनाएको छ ।