राजनीति

जापान पुगे प्रचण्ड, नारिता विमानस्थलमा राजदूतले गरे स्वागत

By खबरहब

August 06, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्।

प्रचण्डलाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसहित प्रवासी नेपालीले स्वागत गरेका छन्।

पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए।

प्रचण्डले आज जापानको फुकुवामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ। भोलि प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम छ।

जनप्रगतिशील मञ्च जापानको आयोजनामा हुने ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयका अन्तरक्रियामा सहभागी हुन प्रचण्ड जापान गएका हुन्।

प्रचण्डको सचिवालयका अनुसार उनी साउन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।