देश/प्रदेश

जुम्लाका तीन वटा पालिकाले अझै पेस गरेनन् बजेट

By खबरहब

August 06, 2022

जुम्ला– पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट पेस  गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, जुम्लाका तीन वटा पालिकाले अझै मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरेको देखिँदैन ।

पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर, जुम्लाको चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड गरेका छैनन् ।

पालिकाले समयमै बजेट पेस नगरेर आफ्नो दायित्व र कर्तव्यबाट पछि हटेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले बताए । देशभरका सात सय ५३ वटा पालिकामध्ये अझै एक सय १५ वटा पालिकाले बजेट पेस गरेका छैनन् ।