अन्तर्वार्ता

बालबालिकालाई निमोनियाबाट जोगाउन सकिन्छ

By खबरहब

September 06, 2022

गर्मी मौसममा बालबालिकामा रुघाखोकीको उच्च जोखिम हुन्छ। समयमा ख्याल गरिएन भने वान्ता हुने, रिङ्गटा लाग्ने हुनुका साथै छालामा पनि विभिन्न समस्याहरु देखिने गर्छन्। गर्मी मौसममा संक्रमण चाँडो फैलिने भएकाले बालबालिकाको उचित हेरचाह गर्नुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन्। गर्मी बढेसँग बालबालिकामा देखिने रोग र यसबाट जोगिने उपायका बारेमा भरतपुर अस्पतालमा कार्यरत डा. नारायणकाजी थापासँग खबरहबकर्मी विना न्यौपानेले गरेको कुराकानीको अंशः

गर्मी मौसममा बालबालिकामा कस्तो समस्या धेरै देखिने गरेको छ ? हिजोआज बालबालिकामा ज्वरोको समस्या बढी देखिएको छ। अहिलेको मौसमका कारण बालबालिकाको तापक्रम एक्कासी बढ्दा ज्वरो आउने र झाडापखाला लाग्ने गरेको पाइन्छ। खासगरी यो समस्या पाँच वर्षमुनिका बालबालिका बढी देखिन्छ।

भाइरल ज्वरो र झाडापखाला लागेपछि बालबालिकामा रोग लागेको कसरी थाहा पाउने ? भाइरल ज्वरोको सङ्क्रमण भएपछि बालबालिकामा ज्वरो आउने, खाना कम खाने, झिँजिने र रुने समस्या हुन्छ। यस्तो भइहाले अस्पताल लगेर थप उपचार गर्नुपर्छ।

यो मौसममा ब्याक्टेरियाको सङ्क्रमणले नै यस्तो समस्या हुन्छ कि अरू कारण पनि हुन्छन् ? यो मौसममा भाइरसको पनि सङ्क्रमण हुन्छ र ब्याक्टेरिया सङ्क्रमणले पनि हुन्छ।

तत्कालै उपचार गरिएन भने के हुन्छ ? सामान्य ज्वरो झाडापखाला छ भने घरमा नै उपचार गर्न सकिन्छ। झोलिलो खानेकुराहरू खुवाउने दूध खाने बच्चा छ भने समय समयमा दूध खुवाउन गर्नुपर्छ। बच्चा अलि बढी नै लट्ठ छ भने नजिकैको स्वास्थ्य चौकीमा लैजानु उत्तम हुन्छ।

यो मौसममा बालबालिकामा धेरै देखिएको डरलाग्दो समस्या के हो ? तराई क्षेत्रमा डेँगु रोगको समस्या बढी हुन्छ। भुसुनाबाट सर्ने रोगको पनि उत्तिकै जोखिम हुन्छ। पहिलेको तुलनामा अहिले केही कम भए पनि सामान्य ज्वरो आउने, झाडापखाला लाग्ने समस्या देखा पर्छ।

अस्पतालमा धेरै कस्ता बिरामीहरूको उपचार गर्नुहुन्छ ? म कार्यरत भरतपुर अस्पतालमा दैनिक ८० देखि एक सय जना बिरामी हेर्नुपर्छ। त्यसमा बढी ज्वरो आउने र झाडापखालाका बिरामी आउनुहुन्छ। भरतपुर अस्पतालमा दश जना बालरोग विशेषज्ञ छौँ। दश वटा बेडको निशुल्क उपचार हुन्छ भने एक वर्षमुनिको शिशुको उपचारका लागि सबै सुविधा छ। बिरामीको सङ्ख्या बढी भए पनि पहिलेको जस्तो जटिल अवस्था छैन।

बालबालिकाहरूलाई भर्ना गरेर राख्नुपर्‍यो भने कस्तो प्रक्रिया अपनाइन्छ ? यदि कुनै बालबालिकालाई इमर्जेन्सीमा ल्याइएको छ भने त्यसरी नै उपचार गर्नुपर्ने हुन्छ। सिकिस्त शिशुलाई आईसीयूमा राखेर उपचार गर्छौँ। एक महिनाभन्दा माथिको शिशुलाई अक्सिजनमा राख्नुपर्‍यो भने समस्या छ तर यो समस्या पनि सुधार गरिरहेका छौँ।

यो मौसममा कस्ता समस्या भएको बिरामी आउँदा भर्ना गरेर राख्नुहुन्छ त ? बढी मात्रामा निमोनिया, ज्वरो, झाडापखालाका बिरामीलाई भर्ना गर्छौँ। त्योभन्दा अरू पनि बिरामीको भर्ना गरेर राख्छौँ। हामीसँग ६० वटा बेड छन्। ती अहिले भरिभराउ छन्। गर्मी मौसममा पनि कमजोर बच्चाहरूमा निमोनिया हुन्छ।

कमजोर बालबालिका भनेर कसरी छुट्टाउने त ? बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम छ भने त्यस्ता बालबालिकालाई कुपोषण, एलर्जी, रुघाखोकी लगायतका समस्याहरू देखा पर्छ। बच्चा जन्मिँदै तौल कम छ भने पनि त्यस्ता बालबालिकामा समस्या देखिन सक्छ। उमेर अनुसार कम तौल भएको बच्चालाई कमजोर भन्न सकिन्छ।

यो मौसममा कस्तो समस्या आउँदा निमोनिया हुने हो ? पाँच वर्ष मुनिका बच्चाहरूमा सामान्य रुघाखोकी धेरै लाग्छ र लाग्ने क्रममा बच्चाले छिटो छिटो सास फेर्‍यो, बच्चालाई सास फेर्न गाह्रो जस्तो भयो, खोकी धेरै नै बढ्यो अथवा बच्चा लट्ठ हुँदै गयो, दूध खाने बच्चाले खान सकेन भने अस्पताल लैजानुपर्छ।

पछि यो समस्या दोहोरिने सम्भावना कत्तिको हुन्छ ? पाँच वर्ष मुनिका बालबालिकामा दोहोरिने क्रम धेरै हुन्छ । पछि भने बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र कहिलेकाहीँ मात्र भर्ना गर्नुपर्ने अवस्था आउँछ। बिरामी नै नहुने अवस्था पनि हुन्छ। कुनै कुनै बच्चामा एलर्जी र दमको समस्या भयो भने पनि पनि पछि समस्या आउन सक्छ तर अरूमा पछि समस्या आउँदैन।

एलर्जी र दमको समस्या कस्तो बच्चामा धेरै देखिन्छ ? बच्चाहरूको शरीर नै त्यस्तो हुन्छ। जन्मजात नै एलर्जी हुनेबित्तिकै रुघा लागिहाल्ने सास फेर्न गाह्रो हुने हुन्छ। कि त बच्चामा वंशाणुगत रूपमा नै त्यस्तो समस्या हुन्छ।

पाँच वर्ष मुनिका बच्चालाई कस्तो खाना खुवाउने ? जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउने, त्यसपछि दालको रस जाउलो लिटोसँग २ वषसम्म स्तनपान गराउने, बाहिरको खाना नखुवाउने, खोपहरू सम्पूर्ण रूपमा लगाउने, सरसफाइमा ध्यान दिने, बासी खानाहरू नखुवाउने गर्नुपर्छ। बाहिर हुने पेय पर्दाथहरु आइसक्रिमहरू पनि खुवाउनु हुँदैन।

बालबालिकामा केही समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ? ज्वरो आई हाल्यो भने सामान्य प्यारासिटामोल खुवाउने, पानीमा भिज्न नदिने, घाममा पनि धेरै समय बाहिर नराख्ने गर्नुपर्छ। बच्चाहरूमा नियमित रूपमा आमाको दूध खुवाउने, खोप लगाउने गर्नुपर्छ। साथै धेरै बिरामी हुने बच्चाहरूमा निमोनियाबाट जोगाउन खोपहरू पाइन्छ। त्यो लगाउँदा पनि राम्रो हुन्छ। सन्तुलित किसिमको भोजन खुवाउने, बाहिर पसलको खाने कुरा खुवाउनु हुँदैन।