धर्म / संस्कृति

मध्यपुरथिमिमा खाँ पिहाँवइगु जात्रा

By खबरहब

October 06, 2022

काठमाडौँ– बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा गरिएको छ । 

तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ । दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्दछन् ।

तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो । जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ । जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्दछ ।